यातायात र जनजीवन सहज बनाउनेतर्फ लाग्न मन्त्री दाहालको निर्देशन

Share News

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीबाट क्षतिग्रस्त भएका सडक, पुललगायत भौतिक संरचनाहरूको पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । 

क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न सडक विभागलाई उनले निर्देशन दिएका हुन् । रसुवाको भोटेकोशी नदीले गरेको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनतर्फ लाग्नसमेत उनको निर्देशन छ ।  

नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षति अध्ययन गरी जनजीवन र यातायात सहज बनाउनेतर्फ जनशक्ति र स्रोतसाधन परिचालन गर्न उनले निर्देशन दिएका हुन् । सो सडकबाहेक अन्य सडकहरूतर्फ समेत ध्यान दिन र सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी जनशक्ति, औजार, उपकरण तथा जनशक्ति परिचालन गर्न उनले निर्देशन दिएका छन् । 

सडक विभागका महानिर्देशक डा. विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले गरेको क्षतिको अध्ययन र गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ । गल्छी–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

बाढी र वर्षाको अवस्थाअनुसार सडक विभागको जनशक्तिले तत्काल गर्नुपर्ने कार्य शुरु गर्दै छ भने अल्पकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका योजनासमेत बनाउने बताइएको छ । सो क्षेत्रमा गर्नुपर्ने संरक्षण मर्मत र पुनर्निर्माणका लागि अन्य निकायहरूसँग समेत समन्वय गरिरहेको सडक विभागले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।