शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ८ प्रतिशत ब्याजदरको ऋणपत्र असार ३२ गते निष्कासन हुदैं

Share News

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले असार ३२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्कासन गर्न लागेको हो । 

कम्पनीले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थामा विक्री गरिने भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणमा विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएर बाँकी कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । 

यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सक्नेछन् । निष्कासन अवधि  छिटोमा साउन ४ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा साउन १४ गतेसम्म लम्बिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्नुपर्नेछ । साथै मेरो शेयर अनलाईनबाट पनि आवेदन पेश गर्न सकिनेछ ।

ऋणपत्र निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको यो ऋणपत्र बाँडफाँटमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।