रसुवागढी बाढीको प्रकोप : टिमुरे सुक्खा बन्दरगाह पुनर्निर्माणमा अन्योल

फाइल तस्वीर ।

Share News
  • २ अर्ब १६ करोड रुपैयाँ लागतमा निर्माणाधीन 
  • ८१ प्रतिशत काम सम्पन्न भएकोमा बनिसकेका ६० प्रतिशत संरचनामा पूर्ण क्षति 
  • आउँदो फागुनमा हस्तान्तरणको तयारीमा लाग्यो ‘ब्रेक’
  • ८० करोड रुपैयाँ बराबरको क्षति भएको  प्रारम्भिक अनुमान

काठमाडौं । २०७९ मङ्सिर (सन् २०२२ डिसेम्बर)देखि चिनियाँ सहयोगमा निर्माण भइरहेको रसुवास्थित टिमुरे सुक्खा बन्दरगाह चिनियाँ पक्षले २०८२ फागुनमा हस्तान्तरण गर्ने तयारी गरेको थियो । ८१ प्रतिशत भौतिक प्रगति भइसकेको उक्त बन्दरगाह मंगलवार बिहान ३ बजे रसुवागढीको ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त भएपछि परियोजना हस्तान्तरण समयमै हुन नसक्ने देखिएको छ भने यसको पुनर्निर्माण कहिले शुरू हुने भन्ने विषयमा अन्योल देखिएको छ । 

असार २४ गते मंगलवार रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले रसुवागढीस्थित मितेरी पुलमा समेत पूर्ण क्षति पुर्याएको छ । यो नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्कसमेत टुटेको छ । तटीय क्षेत्रमा निर्माणाधीन उक्त बन्दरगाहमा काम गर्ने नेपाली र चिनियाँ कामदार बेपत्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय, रसुवाले मंगलवार दिउँसो जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त बाढीमा परी १८ जना मानिस बेपत्ता भएका छन् । बेपत्ता हुनेमा प्रहरीसमेत रहेका छन् । 

चीनको २ अर्ब १६ करोड ६० लाख रुपैयाँ अनुदानमा बन्दै गरेको उक्त बन्दरगाह पछिल्ला केही वर्षमै नेपाल–चीन व्यापारको ‘हब’ बन्दै आएको छ । नेपाल–केरुङ जोड्ने मितेरी पुल पूर्ण रूपमा क्षति हुँदा अहिले नेपाल–चीन सडक सम्पर्क टुटेको छ जसले गर्दा अब उत्तरी नाका रसुवाबाट हुँदै आएको चीन व्यापारको विकल्प पुनः तातोपानी नाका बन्ने देखिएको छ । नेपाललाई चीनसँग जोड्न उत्तरमा विभिन्न १४ ओटा नाका भए पनि अहिले तातोपानी र रसुवागढी यी दुई नाका बढी प्रचलनमा छन् । यद्यपि चीनकै सहयोगमा मुस्ताङको कोरला नाकामा पनि इन्टेग्रेटेड चेक पोस्ट बन्दै छ । 

क्षतिग्रस्त निर्माणाधीन बन्दरगाह निर्माणको काम अघि बढाउन चिनियाँ पक्षसँग छलफल भइनसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । ‘आउँदो फागुनमा चिनियाँ पक्षले बन्दरगाह हस्तान्तरण गर्ने तयारीअनुसार काम गरिरहेको थियो,’ उनले भने, ‘अब हस्तान्तरणका साथै निर्माणमै समय लाग्ने देखियो । चीनले अनुदानमा बनाइदिएको यो बन्दरगाह निर्माण कहिले र कसरी गर्ने भन्ने विषयमा अहिले छलफल भएको छैन ।’

उनका अनुसार सुक्खा बन्दरगाहमा मात्रै प्रारम्भिक क्षति ८० करोड रुपैयाँभन्दा बढी भएको छ । उनका अनुसार ४०० मीटरको रिटेनिङ वाल पूरै बगेको छ । बेचिङ प्लान्ट, वेयरहाउस, यसको फाउन्डेशन, पार्किङ क्षेत्रलगायत पूर्वाधारमा क्षति पुगेको छ । ८१ प्रतिशत काम सम्पन्न भएकोमा बनिसकेका ६० प्रतिशत संरचनामा पूर्ण क्षति भएको गजुरेलले बताए । अहिले निर्माण भइरहेकै स्थानमा पुनः बन्दरगाह बनाउने जानकारी दिँदै उनले भने, ‘खोलाको छेउमा भए पनि अर्को विकल्प छैन ।’

रसुवागढी सुक्खा बन्दरगाह निर्माण गर्नका लागि नेपाल सरकार र चीनबीच समझदारी भएको ८ वर्षपछि चिनियाँ पक्षले निर्माणलाई तीव्रता दिएको थियो । नेपाल–चीन व्यापारको प्रमुख नाका मानिने सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट हुँदै आएको व्यापार अहिले रसुवा नाकातर्फ सरेको छ । २ अर्ब १६ करोड ६० लाख रुपैयाँ लगानी गरेर चीनले अहिले रसुवा जिल्लाको टिमुरेमा उक्त सुक्खा बन्दरगाह बनाइदिँदै छ । सन् २०१४ अक्टोबरमा यो बन्दरगाह निर्माणका लागि समझदारीपत्र (एमओयू) भएको थियो । त्यसयता सन् २०१५ मा डिजाइन तयार भएको थियो । चिनियाँ कम्पनी टिवेट फुली कन्स्ट्रक्शन ग्रूप कम्पनी लिमिटेडले सन् २०२२ डिसेम्बरदेखि काम शुरू गरेको थियो । सन् २०२५ जुनसम्ममा सुक्खा बन्दरगाह निर्माण गरिसक्ने लक्ष्य लिएको थियो । तर, यो समय सरेर सन् २०२६ मार्चसम्म धकेलिएका बेला बाढीका कारण यो समय थप लम्बिने देखिएको छ । 

उक्त सुक्खा बन्दरगाह २ हजार ८० वर्गमीटरमा फैलिएको छ । प्रस्तावित डिजाइनअनुसार ५ हजार वर्गमीटर क्षेत्रफलमा प्रशासकीय भवन, ७५० वर्गमीटरमा गोदाम बन्नेछ । उक्त बन्दरगाहमा पार्किङ क्षमता ३५० ओटा कन्टेनर अट्ने रहेको छ । जाँचपास बिन्दु दुईओटा हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।