काठमाडौं । नेपालको डिजिटल पूर्वाधार विस्तार गर्न इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसँगको सहकार्यमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडमा २९ मिलियन अमेरिकी डलर (करीब ३ अर्ब ९८ करोड रुपैयाँ) लगानी गर्ने भएको छ ।
यो लगानीले फाइबर नेटवर्क विस्तार गर्ने र देशभर डेटा सेन्टर स्थापना गर्ने लक्ष्य राखेको तीन संस्थाको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यसले समावेशी विकास प्रवद्र्धन गर्ने र देशभर डिजिटल पहुँच पुर्याउने लक्ष्य राखेको छ । उच्चगतिको इन्टरनेटको पहुँच विस्तार गर्दै देशका दुर्गम क्षेत्रहरूलाई फाइबर अप्टिकल नेटवर्कमा जोड्ने र आधुनिक डेटा प्रोसेसिङ पूर्वाधार तयार गर्न लगानी साझेदारी अघि बढाइएको बताएको छ ।
विश्व बैंक समूहको सदस्य रहेको आईएफसी विकासशील देशका बजारमा निजीक्षेत्रलाई लक्षित गरी लगानी गर्ने वित्तीय विकास संस्था हो । सन् १९९५ मा स्थापित वर्ल्लिंक कम्युनिकेसन्स नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो । कम्पनीले १० लाखभन्दा बढी घरपरिवार र हजारौं व्यवसायलाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले देशभर दुर्गम तथा कम पहुँच भएका क्षेत्रहरूसहित ७ हजार ५०० भन्दा बढी स्थानमा फाइबर नेटवर्क विस्तार गरेको छ । देशका प्रमुख शहरहरूमा निःशुल्क वाईफाई हटस्पट पनि स्थापना गरेको वर्ल्डलिंकले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ५ हजार ५०० भन्दा बढीलाई रोजगारी दिएको जनाएको छ ।
विज्ञप्तिमा उल्लेख भएअनुसार वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवाल भन्छन्, ‘हामी कनेक्टिभिटी नै अवसरसम्म पुग्ने पुल हो भन्नेमा विश्वास गर्छौं । आईएफसी र स्ट्यान्डर्ड चार्टर्डसँगको यो रणनीतिक साझेदारीले त्यो पुललाई अझ बलियो बनाउनेमा हामी विश्वस्त छौं । हाम्रो यो सहकार्य सशक्त डिजिटल समाज निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धताको प्रमाण हो ।’
वर्ल्डलिंकले देशभर अत्याधुनिक डेटा सेन्टरहरू निर्माण भइरहेको बताएको छ । आईएफसीका दक्षिण एशियाली क्षेत्रीय निर्देशक इमाद एन. फाखुरीले भने ‘यो लगानीले नेपालको १६औं पञ्चवर्षीय योजना र डिजिटल नेपाल फ्रेमवर्कको लक्ष्य पूरा गर्न सघाउँछ, जुन लक्ष्यले सहज इन्टरनेट पहुँच, एकीकृत पूर्वाधार विकास र प्रविधिको माध्यमबाट सामाजिक–आर्थिक प्रगति सुनिश्चित गर्न खोजेको छ । आईएफसी यस डिजिटल रूपान्तरण र आर्थिक वृद्धिमा सहयोग गर्न पाउँदा गर्व अनुभूत गर्छ ।’
आईएफसीको लगानीमा वर्ल्डलिंकले कार्यक्षेत्रमा महिलाको सहभागिता बढाउने लक्ष्य लिएको छ, जसले समावेशी रोजगारीका विश्वव्यापी रणनीतिहरूसँग तादात्म्य राख्छ ।
आईएफसीका एशिया–प्रशान्त क्षेत्रका पूर्वाधार तथा प्राकृतिक स्रोत विभाग निर्देशक विक्रम कुमार भन्छन्, ‘नेपालको डिजिटल क्षेत्रमा नवप्रवर्तन र अवसरको अपार सम्भावना छ । यसको पूर्ण लाभ लिन ग्रामीण क्षेत्रहरूमा डिजिटल पहुँच, विशेषगरी फिक्स्ड ब्रोडब्यान्ड पूर्वाधार विस्तार गर्न आवश्यक छ । डेटा सेन्टर पूर्वाधारले यो परिवर्तनलाई सघाउनेछ, जसले राष्ट्रिय प्राथमिकता भएका क्षेत्रहरूमा समावेशी रोजगारीको अवसर बढाउन सम्भव बनाउनेछ ।’
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड नेपालका प्रमुख गोरख राणाले वर्ल्डलिंक र यसको सहायक संस्था डेटा वर्ल्ड, आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीचको यो ऐतिहासिक सहकार्य नेपालको डिजिटल पूर्वाधार सशक्त बनाउने एउटा महत्त्वपूर्ण कदम भएको बताए । उनले भने, ‘डिजिटल पूर्वाधारमा लगानी गरेर हामी इन्टरनेट पहुँच र डेटा सेन्टरको क्षमता राष्ट्रिय स्तरमा विस्तार गर्न चाहन्छौं, जसले नेपालको पहुँच विश्वव्यापी अवसरहरूसँग जोड्नेछ ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।