आईसीटी ब्राण्डिङ एक्स्पो पुसमा

Share News

आईसीटी ब्राण्डिङ एक्स्पो पुसमा
अभियान संवाददाता
सूचनाप्रविधिको विकासका लागि इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (आईसीटी) एसोशिएसन अफ नेपालले 'आईसीटी इन्फोटेक ब्राण्डिङ एक्स्पो’ २०११ को आयोजना गर्ने भएको छ । सूचना तथा प्रविधिको विकासका लागि राष्ट्रिय नीतिनिर्माणमा सहयोग पुर्‍याउन तथा ग्रामीण क्षेत्रमा सूचना प्रविधि पुर्‍याउन सहयोग पुगोस् भन्नका लागि प्रदर्शनीको आयोजना गरिएको आयोजक कम्पनीका प्रमुख सागरदेव लाखेले अभियानलाई बताए ।

पुस २१ गतेदेखि पाँच दिनसम्म भृकुटी मण्डपको प्रदर्शनी हलमा सञ्चालन हुने उक्त प्रदर्शनीमा कम्प्यूटर, प्रिण्टर, मोबाइल, एलसीडी तथा एलईडी टीभी, सफ्टवेअर, शैक्षिक सामग्री, आईएसपी (इण्टरनेट सर्भिस प्रोभाइडर), पावर इक्विपमेण्ट, डिजिटल इक्विपमेण्ट, टेलिकम्युनिकेशनलगायत डिजिटल कम्युनिकेशनमा नयाँ आउने प्रविधिहरू समावेश गराइने आयोजक कम्पनीले जानकारी गराएको छ । यसैगरी कम्पनीले प्रदर्शनीको छैटौं दिन पुस २६ गते समापन समारोहको समेत आयोजना गर्ने भएको छ ।

कम्पनीले आयोजना सञ्चालन गर्न लागेको यो चौथोपटक हो । कम्पनीले यसअघिका वर्षमा पनि सूचना प्रविधिमा आधारित तीनवटा प्रदर्शनीको आयोजना गरिसकेको थियो । आयोजक कम्पनीका प्रमुख लाखेका अनुसार यस वर्षको प्रदर्शनीमा ३×३ मिटरदेखि ६×१२ मिटरका स्टलहरू रहने र ती स्टलको मूल्य २७ हजारदेखि १ लाख ४५ हजार रुपैयाँसम्म रहनेछ । कम्पनीले आयोजनाको कुल लागत ४० देखि ५० लाख रुपैयाँसम्म रहने अनुमान गरेको बताएको छ ।

प्रदर्शनी प्रायोजनका लागि कम्पनीले दुई समूहमा प्रायोजकहरूको व्यवस्था गर्ने भएको छ । समूह 'ए’अन्तर्गत लगानी गर्न चाहनेका लागि ९ लाख रुपैयाँ तोकिएको छ, भने समूह 'बी’मा आईसीटी ब्राण्डिङ एक्स्पोका संस्थापकहरू रहनेछन् । संस्थापकका लागि भने कम्पनीले २ लाख रुपैयाँ तोकेको छ । कम्पनीले जानकारी गराएअनुसार मङ्सिर पाँच गतेसम्म दरखास्त दिने कम्पनी मात्र प्रायोजक हुन पाउनेछ । त्यस्तै कम्पनीले मङ्सिर ५ गतेदेखि स्टल बुकिङ खुला गर्ने भएको छ । बुकिङ मङ्सिर १५ गतेसम्म मात्र खुला रहने बताइएको छ ।

आयोजक कम्पनीले प्रदर्शनी प्रभावकारी बनाउनका लागि काठमाडौं उपत्यकाबाहिरका करीब ५ सय कम्प्यूटरसम्बन्धी उपकरणका डीलरहरूलाई समेत आमन्त्रण गर्ने भएको छ । प्रदर्शनीमा नेपालका विभिन्न सङ्घसंस्थाका करीब २५ हजार प्रतिनिधिहरू अवलोकनमा समावेश हुनेछन् । उक्त प्रदर्शनीलाई राष्ट्रिय र अन्तरराष्ट्रिय गरी करीब ४ लाख ५० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रदर्शनीमा स्टल खरीदकर्ताले प्रविधिका विषयमा चेतनामूलक सामग्री, नयाँ प्रविधिको प्रदर्शनी र विक्रीवितरण गर्न सक्नेछन् । आयोजक कम्पनीले प्रदर्शनीमा सहभागीहरूको व्यापारव्यवसाय प्रवर्द्धनका लागि समान रूपमा विभिन्न मिडिया, होर्डिङ बोर्ड, ब्यानर, स्टीकर तथा
वेब साइटसमेतको प्रयोग गरिने बताएको छ ।

सुविधायुक्त एण्ड्रोइड
तपाईं फोनमा कतिसम्म सुविधाको अपेक्षा गर्नुहुन्छ ? पछिल्लो समयमा अन्तरराष्ट्रिय बजारमा आएको एण्ड्रोइड फोनका १२ वटा एप्लिकेशनहरूले तपाईँका धेरै आवश्यकता पूरा गर्न सक्छन् । एण्ड्रोइड फोनमा साधारण फोनको तुलनामा धेरै विशेषता छन् । यसमा भिडियो क्यामरा, फोनबुकका साथै जीपीएस नेभिगेटरलगायतका सुविधाहरू रहेका छन् । वास्तवमा यसलाई स्वीस आर्मी नाइफसँग तुलना गर्न सकिन्छ ।

फोनमा जडान भएको फ्लास लाइट, रिमोट कण्ट्रोल, बारकोड स्क्यानर, कम्पास, एमपीथ्री, कीबोर्ड, माउसलगायतका सुविधाले फोनलाई विशेष बनाएको छ । म्युजिक प्लेयर र अलार्मसमेत भएको यस फोनमा प्रयोग भएको 'मोटोरोला ड्रोइटलाइट' ले फोनलाई अझ आकर्षक बनाएको छ । यसमा आएको साधारण देखिने क्यामरा निकै गुणस्तरीय (एलईडी जडित) छ । यसलाई 'अन' वा 'अफ' गर्न यसको 'वल्व' मा छोए पुग्छ ।

उक्त फोनमा माइक्रोफोन र मेमोरीकार्ड पनि हुने भएकाले यसलाई आफ्नो चाहनाअनुसार रिकर्डरकोलका रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसमा आवश्यकतानुसार म्युजिक, आवाज तथा रिमाइण्डर पनि रेकर्ड गर्ने क्षमता छ ।

फोनमा ८ देखि ४४ किलोहर्जसम्मको रेकर्ड क्षमता रहेको छ । उक्त फोनमा रेकर्ड गरेको गीत तथा फाइल अन्य फरम्याटमा परिवर्तन गरी ईमेल, ब्लुटुथ तथा फेसबुकमा समेत पठाउन सकिन्छ । यसबाहेक फोनलाई टीभीको रिमोट कण्ट्रोलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । विभिन्न सुविधाले यस फोनलाई 'रिमोट’ का साथै 'कीबोर्ड’ र 'माउस’ का रूपमा पनि प्रयोग गर्न सकिन्छ । जसले गर्दा फोनबाटै कम्प्युटरसमेत चलाउन सकिन्छ ।

यदि तपाईं कुनै ठाउँमा हराउनुभयो वा म कुन ठाउँमा छु भन्ने जान्न चाहनुभयो भने फोनमा भएको 'जीपीएस नेभिगेटर’ ले सोको जानकारी दिन्छ । महत्वपूर्ण जानकारी टिपोट गर्नका लागि नोटबुक पनि फोनमा उपलब्ध छ । यदि तपाईंसँग एण्ड्रोइड फोन छ भने यसमा भएको 'बारकोड’ बाट स्क्यान गरी सामानका बारेमा सम्पूर्ण जानकारी पाउन सकिन्छ । यसका साथै यसमा भएको म्युजिक प्लेयर तथा गितार ट्यूनरबाट समेत प्रयोगकर्ताले भरपूर फाइदा र आनन्द लिन सक्छन् ।

क्यानका स्टल ९०५ बुकिङ
कात्तिक २९, काठमाडौं (अस) । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) द्वारा आयोजना हुने १७औँ क्यान इन्फोटेक मेलाको ९० प्रतिशत स्टल बुकिङ भइसकेको छ । स्टलको बुकिङ अहिलेसम्म खुला भए पनि बाँकी १० प्रतिशत स्टल स्पोन्सरहरूका लागि छुट्टयाइएको क्यानका अध्यक्ष सुरेशकुमार कर्णले अभियानलाई बताए । काठमाडौंको भृकुटीमण्डपमा हुने उक्त मेला माघ १८ देखि २३ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।
 
करीब ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको सो मेलामा २ सय ७० स्टल रहनेछन् । क्यानले गतवर्षको भन्दा यस वर्ष३ प्रतिशतले स्टल बढाउने तयारी गरिएको पनि बताएको छ । क्यानका अनुसार स्टलको भाडा भने न्यूनतम रू. २५ हजारदेखि अधिकतम रू. ३ लाखसम्म राखिएको छ । 'प्रदर्शनीका लागि पर्याप्त ठाउँ नभएकाले धेरै स्टल राख्न सकेनौं' , कर्णले भने । सो मेलामा राखिने स्टलमध्ये ८८ वटा हलबाहिर र बाँकी हलभित्र रहने बताइएको छ ।

यस वर्षको मेलामा २ सयभन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय ब्राण्डका पछिल्लो समयमा बजारमा आएका प्रविधिहरू समावेश गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।