परामर्श कम्पनी/लगानी

Share News

परामर्श कम्पनी/लगानी
 मैले एउटा कलेजको स्थापना गर्दा नै केही शेयर लिएको थिएँ । डीभी परेकाले म मेरो नाममा रहेको शेयर साथीलाई बेचेर जान चाहन्छु । कलेज निजी कम्पनीअर्न्तर्गत दर्ता भएको हो । के मैले आफ्नो शेयर बेचेर जान पाउँछु ? नामसारी गर्न के गर्नुपर्ला - जानकारीको अपेक्षा गर्दछु ।
पीआर, जावलाखेल

निजी कम्पनीको शेयर बेच्न नपाइने भन्ने हुँदैन । बरू पब्लिक कम्पनीको जस्तै सजिलै गरी दोस्रो बजारमा विक्री गर्न सकिँदैन । सामान्यतया, निजी कम्पनीका शेयर वर्तमान शेयरधनीले आपसी समझदारीमा किन्ने गर्छन् । त्यसो हुन नसके शेयरधनीलाई जानकारी गराएर आफ्नै वा सामूहिक पहलमा बाहिरको व्यक्तिलाई निम्त्याउने सामान्य प्रक्रिया हुन्छ । पछि साधारणसभामा बेच्ने तथा किन्ने छुट्टाछुट्टै प्रस्ताव राखी पारित गर्नुपर्दछ । यी सबै कुराहरू कम्पनीको प्रबन्धपत्र तथा नियमावलिमा पनि स्पष्ट उल्लेख गरिएको हुन्छ । यहाँले एकपटक अध्ययन गर्नुहोला । नामसारी गर्न यहाँले भ्याउनुहुन्छ भने आफैँ कम्पनी रजिष्ट्रारको कार्यालयमा उपस्थित भई नामसारी गरिदिन सक्नुहुन्छ । साधारणसभाबाट किनबेच गर्न पाउने प्रस्ताव पारित गरेको प्रमाणका लागि त्यस निर्णयको फोटोकपी पनि साथै पेश गर्नुपर्दछ । यदि यहाँलाई फुर्सद छैन भने कम्पनी सचिव वा कानूनी अधिकृतलाई अख्तियारी दिएर जानुभए पनि हुन्छ । पछि उहाँहरूले सजिलै नामसारी गर्न सक्नुहुन्छ ।

के निजी कम्पनीले पनि वार्षिक आर्थिक विवरण तयार गरी र्सार्वजनिक गर्नुपर्दछ ? यस्ता प्रतिवेदन कति समयसम्म सुरक्षित राख्नुपर्दछ ?
रोशन प्रधानाङ्ग, थापाथली

निजी कम्पनीले आर्थिक वर्षसमाप्त भएको ६ महीनाभित्र कम्पनी ऐनले तोकेको ढाँचामा आर्थिक वर्षको अन्तिम मितिको वासलात, आर्थिक वर्षको नाफानोक्सानको हिसाब तथा आर्थिक वर्षको नगद प्रवाहको विवरण तयार गरी लेखापरीक्षणसमेत गर्नुपर्दछ । यी विवरणहरू सम्बन्धित कार्यालयमा पेश गर्नुपर्दछ । तर, निजी कम्पनीले विवरणहरू र्सार्वजनिक गर्नुपर्दैन । यस्ता आर्थिक विवरणहरू सम्बन्धित आर्थिक वर्षसमाप्त भएको मितिले कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्दछ ।
परामर्शदाताः जीडीपी कन्सल्टिङ, पुतलीसडक
इमेलः [email protected]

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।