अनीलकुमार अग्रवाल
प्रबन्ध निर्देशक
श्री सिमेण्ट इण्डष्ट्रिज प्रालि
श्री सिमेण्ट इण्डष्ट्रिज प्रालि विगत १ दशकदेखि सिमेण्ट उत्पादनमा सक्रिय छ । यो उद्योगले दैनिक ५ सय मेट्रिक टन सिमेण्ट उत्पादन गर्छ । कलश गोल्ड ब्राण्डमा पीपीसी सिमेण्ट उत्पादन गर्दै आएको उद्योगले उत्पादनमा विविधीकरणको योजना पनि बनाएको छ । सिमेण्टका विविध विषयमा उद्योगका प्रबन्ध निर्देशक अनीलकुमार अग्रवालस“ग आर्थिक अभियानले गरेको कुराकानीको सार :
सिमेण्ट प्रयोग गर्दा केमा ध्यान दिन सके उपभोक्ताले बढी लाभ लिन सक्छन् ?
निर्माण लामो समयसम्म उपभोगका लागि हुने हो । व्यक्तिगत, व्यावसायिक वा सार्वजनिक जुनसुकै निर्माणको उद्देश्य दीर्घकालीन प्रयोजनका लागि नै हुने भएकाले निर्माण सामग्रीको गुणस्तरमा विशेष ध्यान दिनुपर्छ । कुनै पनि पूर्वाधार निर्माणको गुणस्तर प्रयोग गरिने सामग्रीको गुणस्तरमा भर पर्दछ । त्यसमा सिमेण्टको गुणस्तर पनि अति महŒवपूर्ण हुन्छ । गुणस्तरीय सिमेण्ट भरपर्दो निर्माणको आधार हो । गुणस्तर पहिचानका लागि उपभोक्ताले प्राविधकको सहयोग लिनुपर्ने हुन्छ । प्राविधिकको सल्लाहमा उपभोक्ता बढी लाभान्वित हुन सक्छन् । सिमेण्टको प्रयोग विधिका बारेमा पनि जानकार हुन अति आवश्यक छ । बलियो निर्माणका लागि सिमेण्टका साथै अन्य सामग्रीको पनि उचित छनोटमा ध्यान पु¥याउन आवश्यक छ । त्यस्तै, सिमेण्टमा गुणस्तरीय बालुवा, गिट्टी र पानीको उचित मिश्रण हुनुपर्दछ ।
प्रतिस्पर्धात्मक बजारमा प्राविधिक र उपभोक्ता झुक्किन पनि त सक्छन् नि ?
उत्पादकले उपभोक्तालाई भ्रममा पार्ने काम गर्नु हुँदैन । यसो भएमा त्यो उद्योगकै लागि बढी घातक हुन्छ । गुणस्तरका बारेमा उपभोक्तालाई एकपटक त ढाँट्न सकिएला, तर प्रयोगपछि वास्तविकता अगाडि आइहाल्छ । त्यसरी उपभोक्ताले हजार वा बढीमा लाखको क्षति बेहोर्दा उद्योगको करोडौं लगानी डुब्न सक्छ । अतः त्यस्तो काम असल उद्योगीले गर्लान् जस्तो लाग्दैन । उद्योगीले करोडौं रुपैयाँ ऋणमा काम गरेको हुन्छ । यसको प्रभाव चक्रीय हुन्छ । प्रतिस्पर्धात्मक बजारमा कमसल सामग्री उत्पादन गरेमा उद्योग असफल हुन पुग्दछ । अहिले भारतबाट सिमेण्टको आयात नगन्य हुनुमा स्वदेशी उद्योगले गुणस्तरीय उत्पादन गर्न सकेकाले नै त हो नि ।
उपभोक्ताले किन कलश गोल्ड पीपीसी नै प्रयोग गर्ने ? तपाईंको उत्पादनको विशेषता के हो ?
कलश गोल्ड पीपीसीको मुख्य विशेषता नै यसमा खियाप्रतिरोधी क्षमता हुनु हो । यो नेपालको एकमात्र खियाप्रतिरोधात्मक क्षमता भएको सिमेण्ट हो । यो सिमेण्टको प्रयोगबाट निर्माणको काममा प्रयोग हुने फलामे डण्डी र अन्य सामग्रीहरूमा खिया लाग्दैन । यसकारण कलश गोल्डको प्रयोगबाट कुनै पनि निर्माण बलियो र दीर्घकालका लागि हुन्छ । हामीले सिमेण्टको गुणस्तरमा कुनै प्रकारको सम्झौता गरेका छैनौं । हाम्रो उत्पादनले नेपाल गुणस्तरको प्रमाणचिह्न पाइसकेको छ । यो आधुनिक प्रविधिबाट उत्पादन हुने उच्च गुणस्तरीय सिमेण्ट हो । यही गुणस्तरका कारण उपभोक्ताले यो सिमेण्ट ढुक्क भएर प्रयोग गर्न सक्छन् । गुणस्तरकै आधारमा बजार प्रतिस्पर्धामा हाम्रो उत्पादन स्थापित हुन सकेको हो ।
उपभोक्ता आकर्षित गर्न उत्पादकबीच अस्वस्थ प्रतिस्पर्धा पनि बढेको छ भनिन्छ नि ?
अस्वस्थ प्रतिस्पर्धाको मार त अन्तिममा उद्योगमा नै पर्ने हो । यसको क्षति उपभोक्ताले होइन, उत्पादकले उठाउनुपर्छ । प्रतिस्पर्धाले उपभोक्तालाई त फाइदा नै पुगेको हुन्छ । प्रतिस्पर्धा गुणस्तरमा हुनु पर्दछ । यो अब अनिवार्य भएको छ । पहिला गुणस्तर चिह्न नलिएर पनि उत्पादन गर्न सकिन्थ्यो । अब त्यो अवस्था छैन । नेपाल गुणस्तरको मापदण्ड पूरा गरेर मात्र सिमेण्ट उत्पादन गर्न पाइन्छ । बजारमा आवश्यकताभन्दा बढी उत्पादन भएर समस्या भने देखिएको छ । आपूर्ति मागको तुलनामा बढी भएकोजस्तो देखिन्छ । यसमा सुधार आवश्यक छ । उद्योगहरूले उत्पादनलाई मात्र बढाउनुभन्दा प्रतिबद्धताअनुसारको गुणस्तरमा ध्यान दिने हो भने उत्पादक र उपभोक्ता दुवैलाई उत्तिकै फाइदा पुग्छ ।
लामो समयदेखि सिमेण्ट उत्पादनमा लागिरहनुभएको छ, नेपालमा यसको बजार कस्तो देख्नुहुन्छ ?
सिमेण्टको उत्पादन, बजारीकरण र खपत स्वदेशमा नै हुने भएकाले यसको सम्भावना बढी छ । केही वर्ष अघिसम्म नेपाली बजारमा स्वदेशी उत्पादनले मागको करीब २० प्रतिशत पनि आपूर्ति गरेको थिएन । आयातको भरमा चलेको थियो । अहिले स्वेदेशी मागको करीब ८० प्रतिशत स्वदेशको उत्पादनले धानेको अवस्था छ । सिमेण्ट उद्योगमा लगानी बढेको छ । यो सम्भावनाकै कारण भएको हो । सिमेण्ट उत्पादनमा वैदेशिक लगानीको विषय पनि उठेको छ । यसलाई सकारात्मक मान्नुपर्दछ ।
अहिले सिमेण्ट उत्पादनमा केकस्ता समस्या छन् ?
राजनीतिक स्थायित्व नहुँदा अर्थतन्त्र नै अन्योलमा परेका बेला सिमेण्ट उद्योग समस्यामुक्त हुने त कुरै भएन । विकास निर्माणका लागि छुट्ट्याएको बजेट खर्च नुहुँदा निर्माणको गति सुस्त छ । निर्माण नै कम भएपछि सिमेण्टको बजार प्रभावित हुने नै भयो । ऊर्जाको समस्या पनि छ । सरकारले उद्योगस्थलसम्म अत्यावश्यक पूर्वाधारको व्यवस्था गर्न सकेको छैन । अझै पनि अधिकांश उद्योगले कच्चापदार्थ आयात गरेर उत्पादन गर्छन । करीब ९५ प्रतिशत उद्योग ‘ग्राण्डिङ’ युनिटमा सीमित भएका छन् । त्यसमाथि कच्चापदार्थको आयातमा लगाइएको अव्यावहारिक महशुलका कारण उत्पादन महँगो हुने गरेको छ ।
सरकारले क्लिङ्करको आयात प्रतिस्थापन गर्ने भनेको छ । यसले कस्तो प्रभाव पार्ला ?
सरकारले कच्चापदार्थको उत्पादन स्वदेशमै गरेर आयात प्रतिस्थापन गर्ने भनेको छ । सिमेण्टमा आत्मनिर्भर हुन सके त उत्पादक, उपभोक्ता र राज्य सबैलाई राम्रो हो । तर, यो सुन्दा सकारात्मक लागे पनि कार्यान्वयन चुनौतीपूर्ण छ । यसका लागि उपयुक्त नीति र पूर्वाधारको अभाव छ । खानी अन्वेषण र उत्खननमा अपारदर्शिता सिमेण्टमा आत्मनिर्भरताको एउटा मुख्य अवरोध बनेको छ । क्लिङ्कर उत्पादन गर्ने हो भने सिमेण्ट उत्पादनमा लगानी पनि अत्यधिक बढानुपर्ने हुन्छ । ७० प्रतिशतभन्दा बढी लगानी क्लिङ्करको उत्पादनमा मात्र चाहिन्छ । यसकारण पनि सिमेण्टको उत्पादन र बजारको सम्भाव्यता उपयोगका लागि सरकारले नीतिगत र कार्यगत स्पष्टतालाई प्राथमिकता दिनु अति जरुरी छ । घोषणा गरेर मात्र हुँदैन । त्यसअनुसारको राणनीति पनि चाहिन्छ ।
तपाईंको उद्योगका आगामी योजना केके छन् ?
निकट भविष्यमै कलश ब्राण्डमा ओपीसी सिमेण्ट उत्पादन गर्दै छौं । नेपाल गुणस्तर प्रमाणको मापदण्ड र सबै प्रक्रिया पूरा भइसकेको छ । प्रमाणपत्र प्राप्त हुनेबित्तिकै ओपीसी उत्पादन शुरू गर्ने तयारीमा छौं । क्लिङ्कर उत्पादनको योजना पनि छ । चुनढुङ्गाको खानी लिने प्रक्रियामा अगाडि बढिसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।