आईटी बजारलाई प्रोत्साहन गर्नेछौं

Share News

सुनैना घिमिरे पाण्डे
सचिव, कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ

अन्य बेलाको झैं यसपटकको क्यान इन्फोटेकमा सूचना तथा सञ्चारप्रविधि क्षेत्रमा विकास भएका अत्याधुनिक प्रविधिको प्रदर्शनीले निरन्तरता पाउनेछ । तर, देशको विद्यमान समस्या र परिस्थितिका कारण अहिले सूचनाप्रविधिको बजारमा पनि मन्दी आएको छ । अधिकांश व्यापार व्यवसाय ठप्प रहेको अवस्थामा उपभोक्ताको क्रयशक्तिमा समेत कमी आएको छ । यही परिस्थितिमा परिवर्तन ल्याउँदै बजारलाई पुनः सक्रिय बनाउन इन्फोटेकले गहन भूमिका निर्वाह गर्ने हामीले आशा लिएका छौं । बजारलाई पुरानै अवस्थामा पुर्‍याउन नसकिए तापनि त्यसमा केही प्रोत्साहन गर्न सकिन्छ भन्ने हाम्रो अपेक्षा छ ।

मेलामा यसपटक १ सय ८० स्टल रहनेछन् । तिनमा हार्डवेयर विक्री तथा मर्मत, पावर सोलुशन्स, मोबाइल एक्सेसरिज, डिलर तथा  डिष्ट्रिब्युटर्स, इण्टरनेट सेवा प्रदायक (आईएसपी)लगायतले आफ्ना नयाँ सेवा तथा अत्याधुनिक उत्पादन प्रदर्शनीका लागि राख्नेछन् । साथै, टेलिकम्युनिकेशन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्ष्टिच्युट्स, सफ्टवेयर सोलुशन्स, पेमेण्ट सोलुशन्सलगायतको पनि उत्साहजनक सहभागिता रहनेछ ।

मेलामा प्रवेशका लागि विद्यार्थीका लागि ५० प्रतिशत छूटको व्यवस्था गरिएको छ । सर्वसाधारणका लागि रू. १ सय तोकिएकोमा विद्यार्थीका लागि भने रू. ५० मा टिकटको व्यवस्था गरिएको छ । मेला अवलोकनका लागि सरकारी विद्यालयका विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको छ । यसका लागि सम्बन्धित विद्यालयले अग्रिम रूपमा लिखित अनुरोधसहितको नामावली भने पठाउनुपर्नेछ । यसैका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीलाई प्रदर्शनीस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । मेलामा प्रवेशका लागि अनलाइन टिकटको व्यवस्था पनि मिलाएका छौं । आमजनमानसलाई सूचना तथा सञ्चारप्रविधिको प्रयोगमा प्रोत्साहन गर्नु यसको मूल उद्देश्य हा । त्यसैले, अनलाइन टिकट खरीदमा २० प्रतिशत छूटसमेत प्रदान गरीने व्यवस्था गरेका छौं । विशेष कारणवश प्रदर्शनीस्थलसम्म पुग्न नभ्याउने मानिसका लागि मेलाको लाइभ भिडियो स्ट्रिमिङको व्यवस्था पनि हामीले गरेका छौं । मेला अवधिभर ‘क्यान डट ओआरजी डट एनपी’ वा क्यानइन्फोटेक डट ओआरजी डट एनपीमा ‘लगअन’ गरी लाइभ भिडियो स्ट्रिमिङ हेर्न सकिन्छ । मेलामा प्रदर्शनी गरिने सामान तथा सेवाहरूका बारेमा उपभोक्तालाई जानकारी लिन सहजता होस् भन्ने सोचले एसएमएसबाटै तिनको बारेमा जानकारी लिन सकिने व्यवस्था मिलाएका छौं । त्यसैगरी प्रदर्शनीको अवधिभर हरेक दिन लक्की ड्रकोसमेत व्यवस्था गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।