विश्वराम बलामी
महासचिव
कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ
विगतको क्यान इन्फोटेक मेलाको तुलनामा यसपटक उपभोक्ताले के पृथक् देख्न पाउनेछन् ?
सूचनाप्रविधिको क्षेत्र निकै परिवर्तनशील छ । हरेक वर्ष पुराना प्रविधि विस्थापन गर्दै नयाँनयाँ नयाँ प्रविधि बजारमा भित्रिरहेका हुन्छन् । साथै, पुराना प्रविधिहरूका परिस्कृत संस्करण पनि प्रस्तुत भइरहेका हुन्छन् । यस्तै, नयाँ प्रविधिहरू हामी प्रदर्शनीमा आफ्ना उपभोक्तामाझ प्रस्तुत गर्दै आएका छौं । यसपटकको क्यान इन्फोटेक मेलामा पनि यस्तै नौला अत्याधुनिक प्रविधिका नयाँ तथा परिष्कृत संस्करणहरू दर्शक, उपभोक्ता तथा अवलोकनकर्ताहरूले देख्न पाउनेछन् ।
हरेक वर्ष क्यान इन्फोटेक आयोजना गरिँदा एउटा नयाँ तथा पृथक् उद्देश्य लिइएको हुन्छ । यसपटक मेलाको मूल उद्देश्य के हो ?
यसपटकको मेलाबाट हामीले ‘स्मार्ट टेक्नोलोजिज फर स्मार्ट सोसाइटी’ अर्थात् समाजलाई स्मार्ट बनाउनका लागि केकस्ता नयाँ प्रविधिहरूको आवश्यकता पर्छ भन्ने नियाल्ने प्रयास गरेका छौं । त्यस्तै, सम्बन्धित जानकारी तथा आवश्यक उपकरण प्रस्तुत गर्ने विशेष प्रयत्न पनि गरेका छौं । अहिले नेपाल सरकारले समेत विशेष अभियानका रूपमा थालनी गरेको डिजिटलाइजेशन प्रक्रिया सम्बन्धित उपकरण, त्यसको अवसर र चुनौतीका बारेमा समेत जानकारी दिनेलिने कार्य गरिनेछ । त्यसैगरी, ई–सेक्युरिटी सम्बन्धित जनचेतनाको अभिवृद्धि गर्ने सोचका साथ विभिन्न कार्यक्रम आयोजना गर्ने अभियान पनि चलाएका छौं । यसै क्रममा हामी एउटा आईसीटी कन्फ्रेन्सको पनि आयोजना गर्दै छौं । यसमा दक्षिण एशियाली क्षेत्रका आठैओटा देशको सहभागिता गराउने प्रयास गरिरहेका छौं । अहिलेसम्म ६ ओटा देश सहभागी हुने निश्चित भइसकेको छ ।
मेलामा भीडभाड व्यवस्थापन कसरी गर्नुहुन्छ ?
क्यान इन्फोटकजस्ता बृहत् मेलाको आयोजनाका लागि उपयुक्त आयोजना स्थलको व्यवस्था नहुँदा हरेक वर्र्ष व्यवस्थापन सम्बन्धित समस्या आउने गरेका छन् । पछिल्लो वर्षको मेलामा ३ लाख ३१ हजार जना अवलोकनकर्ताको सहभागिता थियो । यसपटकको मेलामा करीब ४ लाख मानिस अवलोकनका लागि आउने हामीले अनुमान गरेका छौं । तिनको उचित व्यवस्थापन तथा सुरक्षालाई दृष्टिगत गर्दै हामी विभिन्न योजना अपनाएका छौं । यसका लागि यसपटकको मेलामा नेपाल प्रहरी, सीसीटीभी क्यामेरा, सेक्युरिटी गार्ड, स्वयम्सेवकलगायतको राम्रो व्यवस्थापन गरिएको छ । त्यसैगरी, मेलामा एनटीसीको भ्यान, रेडक्रशको डिजास्तर म्यानेजमेण्ट, क्षति न्यूनीकरण टीमलगायत समूह सक्रिय गराएर यसको व्यवस्थापनका लागि विशेष ध्यान दिइएको छ ।
मेलाले सूचना तथा प्रविधिको व्यवसायमा कस्तो सहयोग पुर्याएको छ ?
क्यान इन्फोटेक मेलाले सूचनाप्रविधिको बारेमा जनचेतना जगाउन ठूलो योगदान गरेको छ । विगतमा सबैले कम्प्युटर चलाउन सिक्नुपर्छ भन्ने अवधारणा लिएर क्यान इन्फोटेक मेलाको थालनी गरेका थियौं । मेलामा वर्षेनि अवलोकनकर्ता तथा प्रदर्शनकर्ताको सङ्ख्या पनि बढ्दै गएको छ । विविध गतिविधिकै कारण अहिलेका नयाँ पुस्ता सूचनाप्रविधिसँगै हुर्किरहेका छन् । नयाँ पुस्ताको सहभागिता झनै बढाउन सकेमा यसको उपभोगिता र विकासमा ठूलो टेवा पुग्नेछ । त्यसैले, निजी तथा सरकारीस्तरबाट समेत यसका लागि विशेष ध्यान दिनुपर्ने देखिन्छ । त्यस्तै, इन्फोटेक मेलाले व्यवसायी र ग्राहकलाई एकै थलोमा जम्मा गर्ने कामसमेत गरेको छ । यो मेला अवलोकनकर्ताले उत्पादनबारे जानकारी लिने र व्यवसायीले विक्रीवितरण गर्ने उपयुक्त ठाउँसमेत भएको छ ।
क्यान इन्फोटेकको २२औं संस्करणसम्म आइपुग्दा यसलाई कसरी समीक्षा गर्नुहुन्छ ?
इन्फोटेक क्यानको प्रमुख कार्यक्रम हो । यसमा हरेक वर्ष अवलोकनकर्ता र स्टलहरूको सहभागिता बढ्दै गएको छ । त्यस्तै, क्यानलाई हेर्ने दृष्टिकोणमा समेत व्यापक परिवर्तन भएको छ । क्यान मेलामा नयाँ ग्याजेट, प्रविधि, अत्याधुनिक उपकरणलगायतका बारेमा नयाँ जानकारी पाइन्छ भन्ने अवधारणाको विकास भइसकेको छ । यसपटकको मेलामा उपभोक्ताले १ सय ८० स्टलमा विभिन्न नयाँ तथा अत्याधुनिक उत्पादन अवलोकन गर्ने तथा तिनका बारेमा जान्ने अवसर पाउनेछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।