इन्फोटेकमा अफरको प्रतिस्पर्धा

Share News

काठमाडौं । सूचना तथा सञ्चारप्रविधि क्षेत्रमा विकास भएका अत्याधुनिक प्रविधिको प्रदर्शनीका लागि परिचित क्यान इन्फोटेक शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डपमा शुुरू हुँदै छ । सूचना तथा सञ्चारप्रविधि क्षेत्रको कुम्भमेलाका रूपमा लिइने इन्फोटेक आगामी २० गतेसम्म सञ्चालन हुनेछ । अहिले सञ्चालन हुने २२औं संस्करणको शीर्ष प्रायोजन सुबिसु केबलनेट प्रालिले गरेको छ भने एशोसिएट स्पोन्सरका रूपमा हुवावे छ । यसै आधारमा यस वर्ष मेलाको नाम ‘सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे’ राखिएको छ । सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवर्द्धन गर्नु मेलाको प्रमुख उद्देश्य भएको कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका अध्यक्ष ई. विनोद ढकालले बताए । ‘यस क्षेत्रको विकास र विस्तारमा आवश्यक रणनीति निर्माणका लागि सार्थक अन्तरक्रिया गर्न पनि वर्षेनि मेला आयोजना गर्दै आएका छौं,’ उनले भने ।

मेलाको २२औं संस्करणको आयोजनाका लागि सूचना तथा सञ्चार मन्त्रालय, प्रमाणीकरण नियन्त्रकको कार्यालय, सूचनाप्रविधि विभाग, राष्ट्रिय सूचनाप्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, इण्टरनेट सेवा प्रदायक सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्शलगायत राष्ट्रिय संस्थाहरूले सराहनीय सहयोग पु¥याएको आयोजकले बताएको छ । साथै, मेलामा एसोसियो (एएसओसीआईओ) र विट्सा (डब्ल्यूआईटीएसए)जस्ता अन्तरराष्ट्रिय संस्थाको पनि सहयोग रहेको क्यानले जानकारी दिएको छ ।  

यसपटकको मेलाको मुख्य प्रदर्शनी हलभित्र ४९ र हलबाहिर तीनओटा ब्राण्डिङ प्रदर्शनी कक्षहरू रहनेछन् । त्यसैगरी ट्रसमा १ सय ४, ओपन स्पेसमा १४ र १० ओटा फूड स्टलसमेत गरी मेलामा कुल १ सय ८० स्टल रहने आयोजकले बताएको छ । यी स्टलहरूमा हार्डवेयर विक्री तथा मर्मत, पावर सोलुशन्स, मोबाइल एक्सेसरिज, डिलर तथा डिस्ट्रिब्युटर्स, इण्टरनेट सेवा प्रदायक (आईएसपी)लगायतले आफ्ना नयाँ सेवा तथा अत्याधुनिक उत्पादन प्रदर्शनीका लागि राख्ने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार स्टलमा टेलिकम्युनिकेशन्स, आईसीटी कलेज तथा ट्रेनिङ इन्ष्टिच्युट्स, सफ्टवेयर सोलुशन्स, पेमेण्ट सोलुशन्सलगायतको पनि उत्साहजनक सहभागित रहनेछ ।

प्रवेश शुल्क
क्यान इन्फोटेक २०१६ को अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क रू. १ सय तोकिएको छ । आयोजकले विद्यार्थीका लागि भने उक्त शुल्कमा ५० प्रतिशत छूटको व्यवस्था गरेको छ । आयोजकले माघ १७ गते (आइतवार) ‘बिजनेश डे’को रूपमा घोषणा गरेको छ । उक्त दिनको प्रवेश शुल्क रू. १ सय निर्धारण गरिएको छ । सो दिन विषेशगरी व्यावसायिक घराना (बिजनेश हाउसेज)ले आफ्नो व्यापार प्रवर्द्धनका लागि विभिन्न डिलर र भेण्डरहरूसँग प्रत्यक्ष रूपमा व्यावसायिक सम्झौता गर्न सक्नेछन् । मेला अवलोकनका लागि सरकारी विद्यालयहरूबाट अग्रिम रूपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्थासमेत गरिएको गरिएको कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका महासचिव विश्वराम बलामीले जानकारी दिए ।

अनलाइन टिकटको व्यवस्था
मेलामा प्रवेशका लागि अनलाइन टिकटको व्यवस्था पनि मिलाइएको  छ । ‘सूचना तथा सञ्चारप्रविधिको प्रयोगप्रति आम जनमानसलाई प्रोत्साहन गर्नु यसको मूल उद्देश्य हो,’ क्यान महासङ्घकी सचिव सुनैना घिमिरे पाण्डेले भनिन्, ‘त्यसैले अनलाइन टिकट खरीदमा २० प्रतिशत छूटसमेत प्रदान गरिने व्यवस्था गरेका छौं ।’ यसका लागि २०७२ माघ १२ गतेदेखि नै क्यान डट ओआरजी डट एनपी वा क्यानइन्फोटेक डट ओआरजी डट एनपीमा लगअन गरी खरीद गर्न सकिने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् । यो व्यवस्था एफवानसफ्ट इण्टरनेशनल र ई–सेवासँगको सहकार्यमा गरिएको हो ।

मेलामा अफरैअफर
शीर्ष प्रायोजक सुबिसु केबलनेट प्रालिले इन्फोटेक २०१६ मार्फत फाइबर इण्टरनेट सेवा घरायसी प्रयोजनका लागि सर्वसाधारणको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ । यही उद्देश्यले सुबिसुले मेलामा विशेष योजना प्रस्तुत गर्ने बताइएको छ । कम्पनीले इण्टरनेट र डिजिटल टीभी तथा इण्टरप्राइज सेवाहरूमा आकर्षक योजना ल्याएको छ । त्यस्तै, प्रदर्शनीमा इण्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट विशेष छूटसहितको प्याकेज तथा तीव्रगतिको इण्टरनेट उपलब्ध गराउने जानकारी दिइएको छ । टेलिकम तथा मोबाइल फोन कम्पनीहरूले पनि मेलामा उपभोक्ताका लागि आकर्षक अफर ल्याएको बताइएको छ । मेलामा बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीहरू पनि सहुलियतसहित उपलब्ध हुनेछन् । त्यस्तै, नयाँनयाँ प्रविधिमा आधारित मोबाइल फोन, ट्याबलेट तथा अन्य उपकरण यस मेलामा प्रदर्शन तथा विक्री गरिनेछ ।

साथै, हाल उपलब्ध सफ्टवेयरहरूका नयाँ भर्शनसहितको अपडेट मोडल पनि मेलामा उपलब्ध हुनेछन् । विभिन्न नयाँ कम्पनीका उत्पादनसमेत यसै मेलामार्फत प्रदर्शनी तथा विक्री शुरू गरिने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीको लाइभ भिडियो स्ट्रिमिङ मेला अवधिभर ‘क्यान डट ओआरजी डट एनपी’ वा क्यानइन्फोटेक डट ओआरजी डट एनपीमा ‘लगअन’ गरी हेर्न सकिने व्यवस्था मिलाइएको छ । उक्त कार्य स्टार नेट प्रालिसँगको सहकार्यमा गरिएको हो ।

क्यान इन्फोटेक २०१६ मा स्मार्ट प्रविधिको प्रवद्र्धनमा जोड दिनुको साथै देशमा डिजिटलाइजेशनको विस्तार गर्ने उद्देश्य पनि लिइएको आयोजकले जानकारी दिएको छ । यसले ई–गभर्नेन्स, ई–टुरिजम, ई–हेल्थ, ई–एग्रिकल्चरलगायत अन्य अवधारणाको विकासमा टेवा पुग्ने पुर्याउने आयोजकले विश्वास लिएको छ । सूचना तथा सञ्चारप्रविधिमा पछिल्लो समयमा भएका विकास र सेवाहरूमा सर्वसाधारणको पहुँच पु¥याउने, जनचेतना अभिवृद्धि गर्नेजस्ता विभिन्न कार्यक्रम तथा प्रस्तुतिसमेत मेलामा आयोजना गरिने बताइएको छ । इलेक्ट्रोनिक सेक्युरिटीका अत्याधुनिक उपकरण तथा सेवा पनि यस प्रदर्शनीको आकर्षणको रूपमा रहेने आयोजकको अनुमान छ ।

प्रदर्शित उत्पादनबारे एसएमएसबाटै जानकारी
मेलामा प्रदर्शनी गरिने सामान तथा सेवाहरूका बारेमा उपभोक्तालाई जानकारी लिन सहज होस् भन्ने सोचले आयोजकले यसपटक विशेष व्यवस्था गरेको छ । आयोजकका अनुसार उपभोक्ताले खरीद गर्न वा जानकारी लिन चाहेका प्रदर्शित उत्पादनबारे एसएमएसबाटै थाहा पाउन सक्नेछन् । यसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर क्यान स्पेस आफूले खरीद गर्न चाहेको सामान वा ब्राण्ड वा सेवाको टाइप गरी ५००१ मा पठाउनुपर्नेछ । त्यसैगरी, प्रदर्शनीको अवधिभर हरेक दिन लक्की ड्रको समेत व्यवस्था गरिएको छ । यसका लागि क्यान स्पेश टिकट नम्बर लेखेर ५००१ मा एसएमएस गरी पठाउनुपर्नेछ । लक्की ड्रमा छनोटमा परेका आगन्तुकका लागि विशेष उपहारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

सुरक्षाका लागि पनि विशेष व्यवस्था
प्रदर्शनीस्थलको सुरक्षालाई ध्यानमा राखी प्रुडेन्सियल इन्स्योरेन्सको तर्फबाट एकमुष्ट बीमाको व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ भने सुरक्षा गार्ड र स्वयम्सेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ ।
इन्फोटेक २०१६ को यस संस्करणको अफिसियल बैङ्क सेञ्चुरी बैङ्कले टिकट काउण्टरको व्यवस्थापनसमेत गर्नेछ । साथै, प्रदर्शनी स्थलमा यस बैङ्ककोे एटीएम सुविधा रहेकाले अवलोकनकर्तालाई पैसा बोक्ने झन्झटसमेत कम हुने देखिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।