काठमाडौं (अस) । राजधानीको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१६ इन एशोसिएशन विथ हुवावे’को तेस्रो दिन बिजनेश डेका रूपमा आयोजना भएको छ । यस दिनको मेलामा सहभागी कम्पनी तथा डिष्ट्रिब्युटरहरूबीच आकर्षक अफर तथा छूट ल्याउने प्रतिस्पर्धा चलेको आयोजकले जानकारी दिएको छ ।
क्यान इन्फोटेक मेलामा सहभागी व्यवसायीहरूले नगद छूट, निःशुल्क जडान, फ्री सर्भिस, उपहारलगायत अफर ल्याएका छन् । यस्ता अफरले अवलोकनकर्तालाई थप सहुलियत मिलेको आयोजकको ठम्याइ छ । प्रदर्शनीको पहिलो दिन ३९ हजार १ सय ७७ जनाले अवलोकन गरेकोमा दोस्रो दिन शनिवार ८५ हजार २ सय ५ जनाले अवलोकन गरेका थिए । तेस्रो दिन ५३ हजार ९ सय १ जनाले प्रदर्शनीको अवलोकन गरेका छन् । आयोजकका अनुसार आजसम्म प्रदर्शनी १ लाख ७८ हजार २ सय ८३ जनाले अवलोकन गरिसकेका छन् ।
‘सुबिसु क्यान आईसीटी कन्फ्रेन्स’ हुँदै
सूचना तथा सञ्चारप्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले माघ १८ र १९ गते आईसीटी सम्मेलन हुने भएको छ । क्यान महासङ्घ र इण्टरनेट सोसाइटी नेपालले संयुक्त रूपमा सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
सम्मेलन होटल याक एण्ड यती, दरबार मार्ग, काठमाडौंमा हुनेछ । यस संस्करणको कन्फ्रेन्सको शीर्ष प्रायोजक पनि सुबिसुले नै गरेको छ । त्यसैले, कन्फ्रेन्सको आधिकारिक नाम ‘सुबिसु क्यान आईसीटी कन्फ्रेन्स २०१६’ राखिएको आयोजकले जानकारी दिएको छ । यस वर्षको सम्मेलन साइबर सेक्युरिटीको विषयमा केन्द्रित रहनेछ । सम्मेलनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषय विज्ञहरूबाट कार्यपत्र पेश हुने बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।