सूचनाप्रविधि
एचपी प्याभेलियन जी–सीक्स कम मूल्यको स्तरीय ल्यापटप
अहिले बजारमा विभिन्न ब्राण्डका थरिथरिका ल्यापटप पाइन्छन् । हार्डवेयरका स्पेसिफिकेशन्सका आधारमा तिनको मूल्यमा पनि निकै ठूलो भिन्नता छ । नयाँ ल्यापटप खरीद गर्न चाहनेहरूलाई मुख्य रूपमा यही भिन्नताले सताउने गरेको पाइन्छ । कम्प्युटरमा प्रविधि जति उच्च हुँदै जान्छ, त्यति नै मूल्य पनि बढ्ने गर्दछ । नयाँ प्रयोगकर्ताहरूको रोजाइ प्रायः कम मूल्यमा स्तरीय र राम्रो ल्यापटप खरीद गर्ने नै रहेको देखिन्छ । तर, विश्वका केही प्रमुख कम्प्युटर निर्माताले बेलाबेलामा खरीदकर्ताको यही चाहना परिपूर्ति गर्न कम मूल्यमा स्तरीय र उच्च प्रविधियुक्त उत्पादन पनि ल्याइरहेको देखिन्छ ।
विश्वको एक प्रमुख कम्प्युटर निर्माता ≈युलेट प्याकार्ड (एचपी) यस्तै उत्पादनहरूका लागि प्रख्यात रहेको छ । आज हामीले तपाईंलाई एचपीद्वारा उत्पादित यस्तै एक ल्यापटपको जानकारी दिने जमर्को गरेका छौं । यदि तपाईं कम मूल्यको राम्रो ल्यापटपको खोजीमा हुनुहुन्छ भने प्याभेलियन सिरिजअन्तर्गतको ‘एचपी जीसिक्स’ले तपाईंको चाहनालाई पूरा गर्न सक्छ । आकर्षक डिजाइनको यो ल्यापटप घरेलु र साना कार्यालयको प्रयोजनलाई ध्यानमा राखेर उत्पादन गरिएको देखिन्छ ।
हार्डवेयरका बारेमा कुरा गर्दा ‘जीसिक्स’मा ३ ओटा यूएसबी पोर्ट, राखिएको छ । यसले तपाईंलाई डाटा ट्रान्सफर र कनेक्टिभिटीका धेरै काम एकैसाथ गर्न सुविधा प्रदान गर्नेछ । त्यसैगरी यसमा रहेको एक हाई डेफिनिशन मल्टिमिडिया इनपुट (एचडीएमआई पोर्टबाट ‘कम्प्रेस’ नगरिएका अडियो÷भिडियो डाटा सजिलै ट्रान्सफर पनि गर्न सकिन्छ । साथै, यसमा राखिएको एक कार्ड रीडरबाट जुनसुकै प्रकारका मेमोरी कार्डका डाटा पनि ट्रान्सफर गर्न सकिन्छ । ‘जीसिक्स’को १३६६ह७२० पिक्सेल रेजोल्युशनको १५ दशमलव ६ इञ्चको डिस्प्लेले हाई डेफिनिशन (एचडी) तस्वीर तथा भिडियो पनि सपोर्ट गर्न सक्छ ।
‘इण्टेल कोर आईथ्री–३८०एम’ प्रोसेशरयुक्त यो ल्यापटपबाट धेरै प्रकारका कम्प्युटिङ कार्य गर्न सकिन्छ । ४ जीबीको ‘डीडीआरथ्री’ मेमोरीका साथ आउने भएकाले सञ्चालन ढिलो होला भन्ने चिन्ता नलिन तपाईंलाई हाम्रो आग्रह छ । ५४००–आरपीएमको ५ सय गिगाबाइटको विशाल स्टोरेज क्षमता हुने भएकाले तपाईं धेरैभन्दा धेरै डाटा स्टोर गर्न सक्नुहुन्छ ।
त्यसैगरी विश्वको एक प्रमुख ग्राफिक्स सिष्टम निर्माता ‘एटीआई’द्वारा निर्मित १ जीबीको रेडिओन ग्राफिक्स कार्ड राखिएकाले तपाईं आफ्नो गेमिङको चाहना पनि पूरा गर्न सक्नुहुन्छ । साथै, मध्यमस्तरसम्ममा मल्टिमिडिया सफ्टवेयरहरू पनि चलाउन यो ग्राफिक्स कार्डले तपाईंलाई निराश गर्नेछैन । एटीआईको कार्डबाहेक ‘जीसिक्स’मा सामान्य एप्लिकेशनका लागि इण्टेल इण्टिग्रेटेड ग्राफिक्स सिष्टम पनि छ, जसलाई ‘स्विच’ गरेर कार्डबाट पनि ग्राफिक्स प्रोग्राम चलाउन सकिन्छ । यो ल्यापटपमा ६४–बिट भसनको ‘विण्डोज सेभेन होम प्रिमियम अपरेटिङ सिष्टम’ इन्ष्टल गरिएको छ ।
यसको सफा तस्वीर तथा भिडियो आउने ‘बिल्ट–इन भिडियोक्याम’ र इण्टर्नल माइक्रोफोनबाट अडियो÷भिडियो च्याट गर्न सकिन्छ । त्यस्तै कनेक्टिभिटीबारे कुरा गर्दा ‘जीसिक्स’को वाइफाईको प्रयोगबाट उपलब्ध वायरलेस वेब कनेक्शनमार्फत इण्टरनेट चलाउन सकिन्छ । त्यसका साथै यसको ब्लूटूथबाट पनि डाटा ट्रान्सफर गर्न सक्नुहुन्छ ।
धेरै तीखो आवाज आउने दुईओटा स्टेरियो स्पिकर भएको ‘जीसीक्स’को साउण्ड सिष्टम भने विशेष उल्लेखनीय छैन । यसको तौल करीब साढे २ किलो छ, जुन यति धेरै हार्डवेयर स्पेसिफिकेशन भएका ल्यापटपका लागि ठीकै मान्नुपर्छ । ‘जीसिक्स’को सम्पूर्ण बाहिरी भाग प्लाष्टिक कोटेड छ, जसले यसलाई केही समय भए पनि कोरिनबाट जोगाउँछ । यसको ६ सेलको ब्याट्री भने सामान्यस्तरको छ, जसले सामान्य प्रयोगमा चार घण्टासम्म ब्याकअप दिन्छ । भिडियो र गेमिङका लागि भने यसको ब्याट्रीबाट दुई घण्टाभन्दा बढी ब्याकअपको आशा नगर्नुहोस् । यसको बजारमूल्य नेपालमा ५६ हजार रुपैयाँ रहेको छ । कम मूल्यमा स्तरीय ल्यापटप खरीद गर्न खोजिरहेकाहरूलाई यो एक उत्तम विकल्प हुन सक्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।