निर्यात प्रवर्द्धन रणनीति : १० मुलुकको प्रोफाइल तयार हुँदै
Oct 12, 2017
 
समाचार
अभियान संवाददाता
काठमाडौं । नेपाली वस्तुको व्यापार विविधीकरण र बजारीकरणका लागि सम्भावित मुलुकहरूको प्रोफाइल तयार गर्ने काम थालिएको छ । वाणिज्य मन्त्रालयले स्वदेशी उत्पादनको अधिक माग र बजारीकरणको सम्भावना भएका त्यस्ता १० ओटा मुलुकको प्रोफाइल तयार पार्न थालेको हो । स्वदेशी उत्पादनको निर्यात प्रवर्द्धन र सम्भाव्य वस्तुको निर्यात रणनीतिअनुसार वाणिज्य मन्त्रालयले यस्तो तयारी गरेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रविशङ्कर सैंजूका अनुसार भारत, चीन, अमेरिका, जर्मनी, बङ्गलादेश, जापान, इटली, क्यानडा, बेलायत र फ्रान्स गरी १० ओटा मुलुकको निर्यात प्रोफाइल तयार गरिँदै छ ।
सरकारले निर्यात प्रवद्र्धनका लागि सम्भावित मुलुकहरूको प्रोफाइल तयार गर्ने योजना केही वर्षअघि नै तयार पारेको थियो । तर, अस्थिर सरकारका कारण उक्त योजना अघि बढ्न सकेको थिएन । नेपालबाट खासगरी तयारी पोशाक, धागो, अदुवा, अलैंची, छालाजन्य वस्तु, जडीबुटी, पश्मिना, नेपाली कागज, चियालगायत वस्तु निर्यात हुने गरेको छ ।
मन्त्रालयका अनुसार कुन देशमा केकस्ता वस्तुको माग बढी छ, निर्यातको अवस्था कस्तो छ, निर्यातको क्रममा केकस्ता समस्या छन् भन्ने विषयमा जानकारी राख्ने उद्देश्यसहित प्रोफाइल तयार पार्ने काम अघि बढेको हो । प्रोफाइलमा मुख्यतः आयात निर्यात, भन्सार तथा गैरभन्सार अवरोध, आयात र निर्यातकर्ताको सम्पर्क नम्बरका अतिरिक्त वस्तुको मूल्यसमेत समावेश गरिने छ । प्रोफाइल तयार भइसकेपछि आगामी दिनमा त्यसले व्यापारघाटा कम गर्न ठूलो सहयोग पुर्याउने मन्त्रालयको अपेक्षा रहेको छ ।
वाणिज्य नीति २०७२ र नेपाल व्यापार एकीकृत रणनीति २०७२ ले अदुवा, चिया, गलैंचा, छाला, जुत्ता, च्याङ्ग्रा पश्मिना, तयारी कपडालगायतलाई प्रमुख निर्यातयोग्य वस्तुको सूचीमा समावेश गरेको छ । ‘कुन देशमा कुन कुन वस्तु केकति निर्यात भइरहेको छ भनेर प्रोफाइल बनाउने काम शुरू गरेका छौं,’ उनले भने । उनका अनुसार प्रोफाइलको ड्राफ्टसमेत तयार भइसकेको छ । जिम्मेवार सबै निकायसँग छलफल गरी ड्राफ्टलाई अन्तिम रूप दिनमात्र बाँकी रहेको बताइएको छ ।
प्रोफाइल तयार भएपछि सोही आधारमा कुन देशमा कुन वस्तुको निर्यात सम्भावना बढी छ भनी सर्वे गरिनेछ । सर्वेपछि सम्भाव्यताका आधारमा त्यस्ता मुलुकसँग दुईपक्षीय सम्झौता गरेर प्रभावकारी रूपमा स्वदेशी वस्तु निर्यात गर्ने योजना तयार पारिएको हो ।
उक्त ड्राफ्टलाई छिटै अन्तिम रूप दिएर प्रोफाइल कार्यान्वयनमा ल्याइने प्रवक्ता सैंजुले जानकारी दिए । ती प्रोफाइल निजीक्षेत्रका निर्यातकर्तालाई उपलब्ध गराई व्यापारमा सहयोग पु¥याउने लक्ष्य मन्त्रालयको छ । पछिल्लो समय सरकारी स्तरबाट स्वदेशी सामग्रीको निर्यातसम्बन्धी उपयुक्त नीति कार्यान्वयनमा नआउँदा विभिन्न मुलुकबाट हुने आयात दर तीव्र गतिमा बढ्दो छ । त्यससँगै तुलनात्मक लाभका विविध वस्तुको निर्यातसमेत खुम्चिएको हो । प्रोफाइल कार्यान्वयनमा आएपछि निर्यात दरमा वृद्धि हुने मन्त्रालयको विश्वास छ ।