अभियान संवाददाता
काठमाडौं । नेपाल वायुसेवा निगमको बोइङ–७५७–२०० नाइन एन एसीए सिरिजको कर्णाली जहाज लीलामी गर्दा अनियमितता भएको तथ्य फेला परेको छ । निगम व्यवस्थापनले जहाज लीलामीका लागि टेण्डर स्वीकृत गरिसकेको फ्लोरिडामा रहेको अमेरिकी कम्पनी ‘एभिएन सिष्टम इङ्क’लाई सम्झौताका लागि नेपाल बोलाएर अर्कै कम्पनीलाई जहाज दिने निर्णय गरेको तथ्य भेटिएको हो ।
आइतवार बसेको निगम सञ्चालक समितिको बैठकले आर्थिक विनियमावलीअनुसार बीबी एयरवेजलाई जहाज लीलामी गर्ने निर्णय गरेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताएका छन् । उक्त निर्णय बिहीवारमात्र सार्वजनिक भएको हो ।
तीनपटकको ग्लोबल टेण्डरबाट पनि जहाज लीलाम गर्न नसकेपछि निगमले आपसी समझदारीअनुसार अमेरिकी कम्पनीले प्रस्ताव गरेको १४ लाख ५० हजार डलरलाई स्वीकार गरेर जहाज खरीद सम्झौता गर्न नेपाल बोलाएको थियो ।
निगम व्यवस्थापनको अगष्ट २८ मा बसेको बैठकले एभिएन सिष्टम इङ्कको टेण्डर स्वीकृत गरेअनुसार २० सेप्टेम्बरमा उक्त कम्पनीलाई इमेल गरिएको थियो । उक्त कम्पनीसँग निगमका कर्पोरेट डिपार्टमेण्टका निर्देशक एवम् प्रवक्ता रवीन्द्र श्रेष्ठले इमेल र फोनमार्फत टेण्डर स्वीकार गरेदेखि नेपाल आउने मितिसमेत तोकेको खबर गरेका थिए । यो सबै कुराको जानकारी निगमका महाप्रबन्धक कंसाकारलाई समेत दिइएको थियो ।
अमेरिकी कम्पनीसँग सम्झौताको मिति तय गर्न पटकपटक फोन सम्पर्क र इमेलमार्पmत जानकारी गराइएको भेटिएको छ । यसरी एउटा कम्पनीसँग सम्झौता गरेर सरकारी स्वामित्वको निगमले अर्को कम्पनीलाई छनोट गरेपछि विश्वस्तरमा नेपालको साखसमेत धमिलिएको छ ।
एभिएन सिष्टम इङ्कलाई जहाज खरीद सम्झौता गर्न १४ अक्टोबर (असोज २८) मा नेपाल बोलाएर त्यसको २ दिनअगाडि नै निगमले बीबी एयरवेजलाई जहाज दिने निर्णय सार्वजनिक गरेको छ । यसले उक्त जहाज लीलामी प्रक्रियामा आर्थिक अनियमितता भएको हुनसक्ने स्पष्टै देखिन्छ । सम्बद्ध स्रोतले यो निर्णय गराउनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको समेत संलग्नता रहेको दाबी गरेको छ ।
निगमले पहिलोपटक २९ मे २०१७ मा ग्लोबल टेण्डरमार्फत १७ लाख १ हजार डलरमा जहाज लीलामी गर्ने प्रक्रिया शुरू गरे पनि तीनपटकसम्म उक्त मूल्यमा टेण्डर नपरेपछि खरीदकर्ता व्यक्ति वा कम्पनीसँग आपसी समझदारीमा विमान लीलाम गर्ने बताएको थियो ।
सोहीबमोजिम अमेरिकी कम्पनीको प्रस्ताव स्वीकार गरेको निगमले अन्तिममा १४ लाख ६० हजार डलर अर्थात् झण्डै १४ करोड ६० लाख रुपैयाँमा जहाज लीलामी गरेको महाप्रबन्धक कंसाकारले बताएका छन् । तर, कंसाकारसँग विभिन्न माध्यमबाट सम्पर्क गरी सम्झौता गर्न ठिक्क परेको अमेरिकी कम्पनीलाई जहाज खरीद गर्न काठमाडौं बोलाएर अन्तिममा अर्कै निर्णय गराएपछि यो प्रकरण शङ्काको घेरामा परेको छ । अमेरिकी कम्पनीलाई पूर्वस्वीकृति दिइएको विषयमा निगम व्यवस्थापनले सञ्चालक समितिको बैठकमा कुनै पनि जानकारी नदिएको समितिका एक सदस्यले बताए । बीबी एयरवेजको मात्र प्रस्ताव आएकाले सर्वसम्मतरूपमा निर्णय गरिएको उनको भनाइ थियो ।
रोचक कुरा के छ भने, उक्त जहाज लीलामीको निर्णय थाहा पाएर त्योभन्दा पनि बढी मूल्य दिन तयार भएको अमेरिकी कम्पनीलाई अब जहाज लीलाम गर्न नसकिने बताइएको छ । निगम महाप्रबन्धक कंसाकारले भने, ‘बीबी एयरवेजलाई जहाज लीलाम गर्ने निर्णय भइसकेकाले अब अमेरिकी कम्पनीलाई बढी मूल्य दिए पनि जहाज दिन सकिँदैन ।’ निगमका तर्फबाट पत्राचार गरेका कर्पोरेट डिपार्टमेण्टका निर्देशक रवीन्द्र श्रेष्ठलाई सम्पर्क गर्न पटक–पटक फोन गर्दा पनि उठेन ।
निगमले २९ मे पछि २९ जुन र २१ जुलाईमा गरेर तीनपटक ग्लोबल टेण्डर आह्वान गरेको थियो । १७ लाख १ हजार डलरमा जहाज लीलाम नहुने भएपछि निगमले १५ लाख ५४ हजार ३ सय ७८ डलरमा जहाज लीलामी गर्ने प्रस्ताव गरेको थियो । यो सबै टेण्डर प्रक्रियामा सहभागी अमेरिकी कम्पनी एभिएन सिष्टम इङ्कले बिहीवारमात्रै निगमलाई आफ्नो पूर्वस्वीकृत मूल्य चित्त नबुझेको भए थप १० हजार डलर थप्ने प्रस्ताव गरेको थियो । तर, अब निगमले अन्य कुनै कम्पनीलाई पनि जहाज दिन नमिल्ने बताएपछि यसमा आर्थिक अनियमितताको गन्ध आएको छ ।
१ सय ९० सीट क्षमताको उक्त बोइङ–७५७ जहाज निगमले सन् १९८७ मा अन्तरराष्ट्रिय उडानका लागि खरीद गरेको थियो । इञ्जिन बनाउन खर्चिलो भएको र तेल पनि बढी खपत भएको भन्दै झण्डै १० महीनादेखि ग्राउण्डेड उक्त जहाज लीलाम गर्ने निर्णय गरिएको थियो ।