ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्पपीडितलाई थप सहयोगको प्रतिबद्धता

Dec 13, 2017  
विकास
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरिरहेका विकास साझेदार संस्थाका प्रतिनिधिले नेपालको पुनर्निर्माण प्रगतिको प्रशंसा गर्दै भूकम्प प्रभावितको राहतका लागि थप सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणमा भएको एक कार्यक्रममा विश्व बैङ्कका कण्ट्री म्यानेजर टाकुया कामाताले पुनर्निर्माणका लागि ऋण सहयोगका रूपमा ३० अर्ब रुपैयाँ (३ सय मिलियन अमेरिकी डलर) उपलब्ध गराउन विश्व बैङ्क तयार रहेको जानकारी दिएका थिए । यसैगरी संयुक्त राष्ट्र सङ्घकी आवासीय निर्देशक भेलरी जुलियाण्डले स्थानीय सरकारहरूसँग मिलेर पुनर्निर्माण अघि बढाउने प्राधिकरणको प्रयासको प्रशंसा गर्दै लाभग्राहीसम्म अझ राम्रो सञ्चार संयन्त्रमा जोड दिन प्राधिकरणलाई सुझाव दिए । बेलायती अन्तरराष्ट्रिय सहयोग विभाग (डीएफआईडी) नेपालका प्रमुख रुरिक मार्सडेनले सबैभन्दा जोखीममा रहेका तथा विपन्न भूकम्पपीडितहरू अझै पनि वित्तीय पहुँचबाट वञ्चित भएकोमा प्राधिकरणको ध्यानाकर्षण गराउँदै सम्भव भएका निजी घरहरूलाई पुनर्निर्माणभन्दा प्रबलीकरणमा जोड दिन सुझाव दिए । अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग (यूएसएड)को पुनर्निर्माणसम्बन्धी कार्यालयका उप–निर्देशक मुहमद खानले प्राधिकरणले लाभग्राही नै अग्रसर हुने संसारकै सबैभन्दा ठूलो आवास निर्माण अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै आफूहरू जोखीममा रहेका समुदायलाई गर्न सकिने सहयोगको विकल्पबारे सोचिरहेको धारणा राखे । पाकिस्तान र इण्डोनेशियाको पुनर्निर्माण प्रक्रियाको तुलनामा नेपालको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले सबै हिस्सेदारलाई अझ मजबूत निर्माणमा सघाउन दिन आग्रह गरे । हाउजिङ रिकभरी एण्ड रिकन्ष्ट्रक्शन प्लेटफर्मका लरेन लकवुडले समुदायस्तरमा ज्यादा संलग्नताको आवश्यकतामा जोड दिँदै इञ्जिनीयर र डकर्मीको नियुक्तिसँगै समुदायको परिचालन पनि उत्तिकै महŒवपूर्ण रहेको बताए । जाइकाका रामप्रसाद भण्डारीले निजी आवास, शैक्षिक एवम् सार्वजनिक संरचना निर्माण र जनजीविकाका कार्यक्रम सञ्चालन गर्न समुदायको परिचालन महत्वपूर्ण रहेको भन्दै त्यसमा जोड दिन प्राधिकरणलाई अनुरोध गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा बुधवार सम्पन्न प्राधिकरण मातहतको विकास सहायता समन्वय तथा सहजीकरण समिति (डीएसीएफसी)को छैटौं बैठकमा साझेदार संस्थाका प्रतिनिधिले प्राधिकरणको समग्र कार्यसम्पादनप्रति सन्तोष व्यक्त गर्दै आफ्नो अनुभव आदानप्रदान गरेका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले चालू आर्थिक वर्षभित्र ६० प्रतिशत भूकम्पपीडितलाई सुरक्षित छानोमुनि सार्ने आफ्नो लक्ष्य रहेको बताए । पुनर्निर्माणलाई गति दिन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहनेगरी हरेक वडामा प्राविधिक जनशक्ति खटाइएको, घर निर्माणका जनशक्तिको अभाव पूर्ति गर्न थप ५४ हजार डकर्मीलाई पुस मसान्तभित्र तालीम दिन लागिएको जानकारी पनि उनले दिए । पुनर्निर्माणमा स्थानीय तहलाई सँगसँगै लिएर जान केही समयअघि भएको स्थानीय तहका प्रतिनिधिसँगको छलफलपछि जारी २८ बुँदे घोषणापत्रअनुसार केही स्थानीय तहले पुनर्निर्माणलाई गति दिनेगरी निर्णय गरेको भन्दै सीईओ भूसालले निर्वाचनपछि निजी घरहरूको पुनर्निर्माणले गति लिने विश्वास व्यक्त गरे । भूकम्प प्रभावितलाई वित्तीय पहुँच पुर्‍याउनु प्राधिकरणले अर्को प्राथमिकता रहेको भूसालले बताए । ‘लाभग्राहीले गाउँपालिका तथा नगरपालिकाबाट पनि सरकारी अनुदान प्राप्त गर्न सकून् भनेर बैङ्किङ प्रणाली सरल बनाउने उपाय खोजिरहेका छौं,’ उनले भने । जोखीममा रहेका समुदायलाई पुनर्निर्माणका लागि सहयोग गर्न उनले विकास साझेदारहरूलाई अपिल पनि गरे । लाभग्राहीको इच्छाअनुसार प्रबलीकरण गर्न सकिने घरलाई सोहीअनुसार बनाउन प्रोत्साहन गरिने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)