नेप्से ०.८४ प्रतिशत बढ्यो, परिसूचकसँगै कारोबारमा पनि वृद्धि
Jan 8, 2018
 
लगानी
मुख्य खबर
अभियान संवाददाता
पुस २४, काठमाडौं । सोमवार शेयर बजार शून्य दशमलव ८४ प्रतिशतले बढेको छ । पहिलो एक घण्टासम्म बढेको परिसूचक १ हजार ४ सय ४८ विन्दुमा पुगेर ओरालो लागेपनि यस दिन बजार घटेन । दोश्रो घण्टादेखि केही सुस्ताएको बजार अन्त्यमा १२ अङ्कले बढेर १ हजार ४ सय ४३ दशमलव ८० विन्दुमा पुगेर बन्द भएको हो । अहिलेको बजार अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम रू. १० करोड बढेर रू. ४६ करोड ४६ लाख पुगेको छ भने बजार पूँजीकरण रू. १४ अर्ब बढेर रू. १६ खर्ब ८६ अर्ब पुगेको छ ।
यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९३ प्रतिशतले बढेर ३ सय ४ दशमलव १८ अङ्क पुगेको छ । होटल समूहबाहेक बाँकी समूहहरुको परिसूचक बढेपछि समग्र शेयर बजार उकालो लागको हो ।
नेपाल लाइफ इन्स्योरेन्सको रू. ८ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ । यस बीमा कम्पनीको शेयर मूल्य रू. ५३ ले बढेर अन्तिम मूल्य रू. १ हजार ८ सय ७५ पुगेको छ । यस कम्पनीको ४ सय ७१ पटकको व्यापारमा ४४ हजार २३ सय ४० कित्ता शेयर किनबेच भएको हो । मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर मूल्य ९ दशमलव शून्य ६ प्रतिशत बढेर अन्तिम मूल्य रू. ३ सय ७३ पुगेको छ । एनआईबीएल प्रगति फण्डको शेयर मूल्य भने ५ दशमलव ५ प्रतिशत घटेको छ ।
नेपाल दूरसञ्चार कम्पनी र जलविद्युत लगानी तथा विकास कम्पनीको शेयर मूल्य बढेपछि ‘अन्य’ समूहको परिसूचक १ दशमलव ६५ प्रतिशत बढेको छ । बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेको छ । नेपाल बङ्गलादेश बैङ्कको रू. २ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ भने अन्तिम शेयर मूल्य रू. २ सय ७५ पुगेको छ । साथै, एभरेष्ट बैङ्क, नबिल बैङ्क, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको शेयर मूल्य रू. १ करोड ४७ भन्दा बढीको कारोबार भएको छ । यस समूहको समग्रमा १७ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
साथै, बीमा समूहको परिसूचक १ दशमलव ६४ प्रतिशत, व्यापारको शून्य दशमलव ६७ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ५१ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ४१ प्रतिशत, जलविद्युतको शून्य दशमलव १७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ११ प्रतिशत बढेको हो । होटल समूहको परिसूचक भने शून्य दशमलव ८२ प्रतिशत घटेको छ ।
यस दिन ९२ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ४६ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ५७ कम्पनीको ४ हजार ४ सय ५४ पटकको व्यापारमा ८ लाख ५५ हजार १ सय ३९ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४३ दशमलव ६२ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलन रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो भने २ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।