अभियान संवाददातापुस २५, काठमाडौं । मङ्गलवार नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेको छ । केही दिनदेखि सकारात्मक देखिएको शेयर बजार यस दिन पनि सुस्तरुपमा उकालो लागेको छ । दिनभरीको व्यापारमा परिसूचक १२ दशमलव २७ अङ्कले बढेर १ हजार ४ सय ५६ दशमलव शून्य ७ विन्दुमा पुगेर बन्द भएको हो । अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम न्यून प्रतिशतले बढेर रू. ५० करोड १७ लाख पुगेको छ भने बजार पूँजीकरण रू. १४ अर्ब बढेर रू. १७ खर्ब पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ८८ प्रतिशतले बढेर ३ सय ६ दशमलव ८७ अङ्क पुगेको छ । उत्पादन तथा प्रशोधन समूह बाहेक बाँकी समूहहरूको परिसूचक बढेपछि समग्र शेयर बजार उकालो लागको हो ।
नेपाल लाइफ इन्स्योरेन्सको रू. ६ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । यस बीमा कम्पनीको शेयर मूल्य रू. ४ ले बढेर अन्तिम मूल्य रू. १ हजार ८ सय ७९ पुगेको छ । यस कम्पनीको ४ सय ४१ पटकको व्यापारमा ३३ हजार ६ सय २९ कित्ता शेयर किनबेच भएको हो । साथै, सानीमा माई हाइड्रोपावरको रू. ५ करोड ५२ लाख र एभरेष्ट बैङ्कको रू. २ करोड २१ लाख बराबरको शेयर कारोबार भएको हो । बेष्ट फाइनान्स कम्पनीको शेयर मूल्य ६ दशमलव ११ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ सय ३९ पुगेको छ । एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य भने ९ दशमलव ९८ प्रतिशत घटेको छ ।
होटल समूहको परिसूचक २ दशमलव ८५ प्रतिशतले बढेको छ । कारोबारमा आएका सबै होटल कम्पनीको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक ६० दशमलव २ अङ्कले बढेको हो । बैङ्किङ समूहको परिसूचक १ दशमलव शून्य ४ प्रतिशत र लघुवित्तको १ दशमलव शून्य ३ प्रतिशतले बढेको छ । साथै, विकास बैङ्क समूहको परिसूचक शून्य दशमलव ८९ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ६६ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव ६३ प्रतिशत, बीमाको शून्य दशमलव ४५ प्रतिशत, जलविद्युतको शून्य दशमलव ३१ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव ४५ प्रतिशतले बढेको हो । बोटलर्स नेपाल (तराई) को शेयर मूल्य रू. २५ घटेपछि उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशतले घटेको हो ।
यस दिन १ सय कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ३९ कम्पनीको शेयर मूल्य घटेको छ भने १९ कम्पनी स्थिर रहेका छन् । सो दिन १ सय ५८ कम्पनीको ४ हजार ५ सय ३२ पटकको व्यापारमा ९ लाख १५ हजार ४ सय २६ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४७ दशमलव ५० स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलन रहेको देखाउँछ । यसैगरी, सो दिन नेप्सेको एडी रेशियो भने २ दशमलव ५६ अङ्क रहेको छ । यसले बजार बुलिश प्रवृत्तिमा रहेको देखाउँछ ।