अभियान संवाददाता
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारको शिरमा रहेको पर्यटकीय खोप्रा र खयरलेकमा पर्यटकीय विकासका लागि स्थानीयले आफ्नै लगानीमा १ करोड रुपैयाँ खर्चेर पूर्वाधार निर्माण गरेका छन् ।
पाउद्वार गाउँदेखि माथि खोप्रासम्म जङ्गल र भीरको बाटोमा समुदायकै पहलमा पदमार्ग, चौतारा र खानेपानीको समेत बन्दोबस्त गरिएको छ । जङ्गल, भीर र अप्ठ्यारो पहाडको बाटोमा आफ्ना दिवङ्गत आफन्तको सम्झनामा स्थानीय ३ दर्जन घरपरिवारले व्यवस्थित पदमार्ग, चौतारालगायत पूर्वाधार निर्माण गरेका हुन् ।
पाउद्वारदेखि खोप्रा र खयरभारनी थानसम्मको पदमार्ग, चौतारा, वासस्थानलगायत पूर्वाधार राज्यको लगानीविना नै निर्माण भएका हुन् । खोप्रादेखि धार्मिक एवम् पर्यटकीय स्थल खयरलेकसम्मको दूरीमा रू. १ करोड १५ लाखभन्दा बढी लगानीमा समुदायकै अगुवाइमा थप पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
प्रचुर पर्यटकीय सम्भावना बोकेको खयर तालको अवलोकन र खयरभारनी थानको पूजापाठका लागि जाने पर्यटक तथा भक्तजनहरूको सुविधाका लागि थानको पुनर्निर्माणसहित व्यवस्थित पदमार्ग र विश्रामस्थललगायत भौतिक पूर्वाधार निर्माण गरिएको खयरभारनी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक क्याप्टेन राजु पुनले बताए ।
खयरभारनी थानमा विशेष गरी जनैपूर्णिमाको अवसरमा विशेष पूजापाठ हुने गर्छ । विकास निर्माणमा सरकारी मुख ताक्ने र बजेटको समेत दुरुपयोग गर्ने परिपाटीको विकास भइरहेको सन्दर्भमा पाउद्वारवासीले भने सरकारी लगानीविना गाउँलेकै पहल र स्वदेश तथा विदेशमा छरिएर रहेका स्थानीय अगुवाहरूको अग्रसरतामा करोडौंको पूर्वाधार तयार गरी उदाहरणीय र नमूना कार्य गरेका हुन् ।
पाउद्वारमा जन्मिएर हाल बेलायतमा बस्दै आएका क्याप्टेन पुनको नेतृत्वमा चन्दा सङ्कलन र श्रमदानबाटै खोप्रादेखि खयरभारनी थानसम्मको १ दिनको पैदल दूरीमा पर्ने बाटोमा अप्ठ्यारा ठाउँहरूमा व्यवस्थित पदमार्ग, थकान मेटाउन चौतारी, बास बस्ने घरलगायत पूर्वाधार निर्माण गरिएको हो । खयरक्षेत्रमा पूर्वाधार निर्माणका लागि अभियान थालिएको ६ वर्षमा रू. १ करोड १५ लाखभन्दा बढी लगानीको पूर्वाधार तयार भइसकेको अभियन्ता पुनले जानकारी दिए ।