ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् उत्पादनमा विद्यार्थीको लगानी प्रस्ताव

Jan 11, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । जलविद्युत् उत्पादनका लागि विद्यार्थीका तर्फबाट पनि लगानी जुटाउन प्रस्ताव प्रस्तुत भएको छ । ‘हाइड्रो एक्स्पो २०१८’ को जलविद्युत् विकास अवधारणामा प्रथम पुरस्कार जित्ने समूहले यस्तो प्रस्ताव गरेको हो । साउथ वेष्टर्न बिजनेश कलेजका विद्यार्थीहरूले उक्त पुरस्कार प्राप्त गरेका थिए । उनीहरूले देशभित्रकै लगानीमा जलविद्युत्को उत्पादन सम्भव रहेको अवधारणा प्रस्तुत गरेका छन्, जसमा हालसम्म चर्चामा नआएको विद्यार्थीको समेत योगदान रहनेगरी लगानी जुटाउन प्रस्ताव गरिएको छ । प्रतिविद्यार्थी प्रतिमहीना रू. १ हजारका दरले देशका सम्पूर्ण विद्यार्थीबाट लगानी जुटाउन उनीहरूको सुझाव छ । विद्यालय तहका साथै देशभित्रका सम्पूर्ण विश्वविद्यालयका विद्यार्थीलाई यस अभियानमा समेट्नुपर्ने धारणा उक्त समूहकी सदस्य स्मृति श्रेष्ठले राखिन् । उनीहरूले सम्बन्धित शैक्षिक निकायहरूको तथ्याङ्कमा कुल ९० लाख ८१ हजार ६ सय १६ विद्यार्थी सङ्ख्या निकालेका छन् । यसबाट वार्षिक रू. १ खर्ब ८ अर्ब ९७ करोड ९३ लाख ९२ हजार लगानी जुट्ने तथ्याङ्क प्रस्तुत गरिएको छ । ‘यसो गर्ने हो भने विद्यार्थीबाट मात्रै वर्षमा ७ सय २६ दशमलव ५३ मेगावाट विद्युत् उत्पादन गर्ने लगानी जुट्छ,’ श्रेष्ठले भनिन्, ‘नसक्ने विद्यार्थीका सट्टा सक्ने विद्यार्थीले लगानी गर्न सक्ने गरिनुपर्छ ।’ यसरी विद्यार्थी जीवनमै हुने लगानीले पढाइ पूरा गर्दासम्म आर्थिक सक्षमताको बाटोमा ठूलो भरोसा मिल्ने समूहका अर्का सदस्य सुविन तामाङले बताए । विद्यार्थीका साथै निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरीको वार्षिक तलबको ३० प्रतिशत सङ्कलनबाट १ सय ८७ दशमलव ५५ मेगावाट विद्युत् उत्पादनका लागि लगानी जुट्ने तथ्याङ्क उनीहरूले प्रस्तुत गरेका छन् । त्यसैगरी वार्षिक कुल विप्रेषणको ३० प्रतिशतबाट १ हजार ३ सय ९१ मेगावाट र प्रतिघर वार्षिक रू. ३० हजारको दरले सङ्कलन गरी १ हजार ८४ दशमलव ६६ मेगावाट विद्युत् उत्पादनका लागि लगानी जुटाउन सकिने प्रस्ताव गरिएको छ । उल्लिखित स्रोतहरूका सन्दर्भमा पनि नसक्नेको सट्टा सक्नेले लगानी गर्ने भन्ने उल्लेख छ । समग्रमा प्रस्तावित स्रोतहरूबाट वार्षिक ३ हजार ३ सय ९० मेगावाट विद्युत् उत्पादनका लागि स्वदेशी लगानी जुट्ने तथ्याङ्क विद्यार्थीहरूले प्रस्तुत गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)