अभियान संवाददाता
काठमाडौं । देशका साना तथा मझौला उद्यमीहरूले वित्तीय संस्थाबाट आकर्षक ऋण सुविधा पाउन नसकेपछि व्यवसाय समस्यामा परेको गुनासो गरेका छन् ।
आर्थिक पत्रकार समाज (सेजन)ले बिहीवार काठमाडौंमा गरेको ‘आर्थिक समृद्धिका लागि साना तथा मझौला उद्योगको भूमिका’ विषयक अन्तरक्रियाका सहभागी व्यवसायीले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा व्यवसायीहरूले साना तथा मझौला उद्यमीलाई हेर्ने सरकारको नजर र बन्ने आर्थिक नीति स्पष्ट नभएकाले व्यवसायीहरू समस्यामा पर्ने गरेको बताए ।
साना तथा मझौला व्यवसायी महासङ्घका अध्यक्ष बाबुकाजी महर्जनले आर्थिक समृद्धिका लागि पहिले देशभित्रका साना र मझौला उद्योग समृद्ध हुनुपर्ने धारणा राखे । नेपाल आर्थिक सङ्घका सचिव खोमराज खरेलले देशमा भएका कुल उत्पादन उद्योगहरूमध्ये धेरै रोजगारी दिने ८६ प्रतिशत उद्योग साना तथा मझौला खालका रहेका र तिनीहरूलाई वित्तीय संस्थाबाट ऋण सुविधा लिन सहज नभएको बताए ।
व्यवसायीहरूका समस्या सुनिसकेपछि पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आयातमुखी बन्दै गएको देशको अर्थतन्त्रलाई उत्पादनमा केन्द्रित गर्ने उपयुक्त समय आएको बताए । राजनीतिक परिवर्तन स्थायित्वतिर अग्रसर रहेको भन्दै उनले सबैजसो राजनीतिक दलका घोषणापत्रमा विकासका एजेण्डाले प्राथमिकता पाएकाले पनि आर्थिक विकास सम्भव हुने विचार व्यक्त गरे ।
कार्यक्रममा साना तथा मझौला व्यवसाय सञ्चालन गर्दा भोग्नुपर्ने समस्या र व्यवसाय विस्तारका सम्भावनाको विश्लेषण गरिएको कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्रमा टिप्पणी गर्दै अष्ट्रेलियन विश्वविद्यालयका डा. रमेश पौडेलले देशभित्र साना तथा मझौला उद्यम सञ्चालनका लागि चाहिने पूँजी र मानवीय स्रोत पर्याप्त रहेको र प्रविधि पनि व्यवस्थापन गर्न सकिने भए पनि स्पष्ट अर्थनीति र दीर्घकालीन योजना नभएकाले उद्यमशीलता विकास हुन नसकेको बताए ।