अभियान संवाददाता
काठमाडौं । पछिल्लो समय विभिन्न प्रकारका दुर्घटना बढेसँगै सरकारले खाना पकाउने (एलपी) ग्यास सिलिण्डरमा प्रयोग गरिने पाइप र कपडामा गुणस्तर निर्धारण गरेको छ । गुणस्तर तथा नापतौल विभागले ग्यासमा प्रयोग गरिने पाइप र कपडामा गुणस्तर कायम गरेको छ ।
शुक्रवार बसेको गुणस्तर परिषद्को बैठकले टेक्स्टाइलको परीक्षण विधि एनएस/आईएसओ १८३३÷२००६ टेक्स्टाइल परिमाणात्मक रसायन विश्लेषण भाग १, २, ३, ४, ५, ७, ८, ११, १२, १५, १८, १९, २०, २१ र २५ स्वीकृत गरेको छ । यो गुणस्तरले नाइलन, फाइबर, ऊनी, कटानलगायतका टेक्स्टाइलहरूमा प्रयोग भएका सिन्थेटिक तथा प्राकृतिक फाइबरहरूको मिश्रणको विश्लेषण गर्ने विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।
बैठकले खाना पकाउने ग्यासको सिलिण्डरमा जडान गरिने रबर होज पाइपको पनि गुणस्तर स्वीकृत गरेको छ । यसरी ग्यास पाइपमा लागू हुने गुणस्तरले जोखीम र दुर्घटना न्यूनीकरणमा सहयोग मिल्ने विभागको दाबी छ । गुणस्तर निर्धारण गर्दा उत्पादनकर्तालाई शुद्धता कायम गर्न र उपभोक्तालाई गुणस्तरीय वस्तु खरीद गर्न सहयोग पुग्ने विभागको ठम्याइ छ । पुडासैनीका अनुसार सरकारले अन्तरराष्ट्रिय गुणस्तर संस्था (आईएसओ) ले तयार गरेको मापदण्डलाई अनुसरण गदै उक्त गुणस्तर कायम गर्न लागेको हो ।
विभागले गुणस्तर परिषद्बाट स्वीकृत भएसँगै उक्त गुणस्तर नमूनाका रूपमा लागू गर्नेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा सूचना प्रकाशित भएपछि उक्त गुणस्तरको मापदण्ड अनिवार्य रूपमा लागू गरिने विभागले जानकारी दिएको छ ।