अभियान संवाददाता
सिन्धुली । सिन्धुलीको कृषिक्षेत्रमा लगानीअनुसार उत्पादन हुन सकेको छैन । कृषिक्षेत्रमा ठूलो लगानी भए पनि उत्पादित तरकारीले करीब २ महीनामात्र धान्ने गरेको छ ।
तरकारी खेतीका लागि सरकारी तथा गैरसरकारी संस्थाबाट ठूलो रकम खर्च भएको तर प्रतिफल सोचेअनुसारको नभएको कृषि विकास कार्यालयका बागवानी शाखा प्रमुख रामजी शाहले बताए । कार्यालयले तरकारी तथा मसला विकासका लागि ५६ लाख ३० हजार रुपैयाँ बजेट आएकोमा ३३ लाख २४ हजार मात्र खर्च भएको बताएको छ ।
‘तरकारी खेतीका लागि सरकारी र गैरसरकारी निकायको लगानी वार्षिक ३ करोडभन्दा बढी देखिन्छ, तर उत्पादन निराशाजनक छ,’ उनले भने । कृषकको पनि लगानी जोड्ने हो भने करीब ७ करोडको हाराहारीमा रहेको उनको भनाइ छ । ‘कृषकले व्यावसायिक रूपमा नै तरकारी खेती शुरू गरे पनि स्थायित्व नहुँदा दीर्घकालीन हुन सकेन,’ उनले भने ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र सिन्धुलीमाढीस्थित तरकारी बजारमा विक्री हुने तरकारीमध्ये अधिकांश जिल्ला बाहिरबाट आयात गरिएको तरकारी तथा कृषि बजार सञ्चालक समितिले बताएको छ । १९ वर्षदेखि तरकारी विक्री गर्दै आएका ढुङ्ग्रेवासका तरकारी व्यापारी यदुनाथ धमला सिजनमा केही तरकारी जिल्लामै उत्पादन भए पनि स्थानीय उत्पादनले मात्र धान्न नसकेकोले अन्य ठाउँबाट तरकारी ल्याउने गरेको बताउँछन् ।