ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको निर्देशन : ‘मध्यभोटेकोशी २ वर्षभित्र सक्नू’

Jan 15, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना २ वर्षभित्र सक्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले निर्देशन दिएका छन् । सन् २०१७ को जुनमा निर्माण सक्ने गरी शुरू गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै भएको छ । आयोजनाको प्रगति बुझ्न शनिवार ऊर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले एकीकृत समयतालिका तयार गरी सोहीअनुसार सबै काम समानान्तर रूपमा अघि बढाउन निर्देशन दिए । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, नाकाबन्दी, बाँधस्थलको जग्गा समयमा उपलब्ध गराउनु तथा ठेकेदारले अपेक्षाकृत रूपमा काम गर्न नसक्दा आयोजना निर्माणमा ढिलाइ भएको हो । आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ । प्राकृतिक प्रकोप तथा मानवीय अवरोध नभए लक्षित समयमा काम सकिने आयोजनाका प्रोजेक्ट म्यानेजर सुनीलकुमार लामा बताउँछन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा सचिव उपाध्यायले आयोजनाको काम ठेक्का सम्झौताअनुसार हुन नसकेको बताए । ‘कामलाई तीव्रता दिन जनशक्ति बढाउनुपर्ने देखिन्छ,’ उनले भने, ‘कुनै पनि हालतमा ढिला नहुने गरी सम्झौताअनुसार आयोजना अघि बढाइनुपर्छ ।’ ठेकेदारले बेहोर्दै आएको नगद समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटकपटक निर्देशन दिँदै आएको सचिव उपाध्यायले बताए । आयोजनाका लागि खोलाको पानी सुकाइ बाँधस्थल खन्न शुरू भएको छ भने विद्युत्गृह रहने ठाउँ खन्ने काम सकिएको छ । विद्युत्गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजनास्थलमा ल्याइएको छ । ‘वर्षाअघि बाँधको ढलान पानीको सतहसम्म ल्याइ पुर्याजउने योजना छ,’ प्रोजेक्ट म्यानेजर लामाले भने, ‘त्यसपछि बाँधको बाँकी काम वर्षा सकिएपछि मात्रै हुनेछ ।’ ७ दशमलव १ किलोमिटर मुख्य सुरुङमध्ये करीब ३ किलोमिटर खनिएको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताए । ‘अब २ वर्षभित्रमा जसरी पनि आयोजना सक्नुपर्छ’, उनले भने, ‘अब आयोजना ढिलाइ गर्नेलाई छूट दिन सकिँदैन ।’ निर्माण सामग्रीको पर्याप्त व्यवस्थासहित समयभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिन तथा ठेकेदारले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न उनले निर्देशन दिए । घिसिङ चिलिमे कम्पनीको प्रबन्ध सञ्चालक रहेका बेला आयोजना अगाडि बढाइएको थियो । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (ईपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एण्ड्रिजले गरिरहेको छ । रू. १२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण लगानी गरेको छ । चिलिमे कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका चार इन्भेष्टमेण्ट कम्पनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकवासी, सर्वसाधारणलगायतको लगानी रहनेछ । आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाले विद्युत् विक्रीबाट वार्षिक रू. २ अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)