ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पदमार्ग खोजी गर्दै धरान

Jan 16, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

धरान । पर्यटनको विकास तथा प्रवद्र्धनबारे लामो समयदेखि धरानमा चर्चा चले पनि स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरू गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि धरान र आसपासको क्षेत्रमा नयाँ पदमार्ग र होम स्टेको सम्भाव्यता अध्ययन गरी धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अभियान शुरू गरेको हो । धरान उपमहानगरले धरान पर्यटन प्रवर्द्धन समिति गठन गरी १ करोड रुपैयाँ विनियोजन गरेको छ । समितिले पहिलो चरणअन्तर्गत पदमार्ग अध्ययन गरेको हो । ‘हामीले धरानलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न नीति तथा कार्यक्रम बनाएर अगाडि बढेका छौं,’ समितिका सहसंयोजक किशोर थुलुङले भने, ‘धरानभित्र र आसपासका क्षेत्रमा पर्यटकीय हिसाबले आवश्यक पर्ने भौतिक पूर्वाधार तयार गर्ने योजना तयार गरेका छौं ।’ धरानलाई पर्यटकीय केन्द्र बनाउने र उपमहानगरको आय वृद्धि गर्ने पनि उपमहानगरो नीति रहेको थुलुङको भनाइ छ । ‘प्रवद्र्धन र विकास गर्छु भनेर मात्र नहुने रहेछ । पर्यटन के हो, पर्यटकलाई कसरी सेवा सत्कार गर्ने, के दिने र के लिने, कसरी लिने भनेर पहिलो चरणमा बुझाउनु पर्ने रहेछ,’ थुलुङले भने, ‘दानाबारी हुँदै सागुरीगढी गाउँपालिकाको काम्फेक निस्कने नयाँ रूट पहिचान गर्यौं, प्राकृतिक सुन्दरता छ, त्यसमा थप आकर्षण बढाउनु मात्र पर्छ । तर, स्थानीयलाई पर्यटनको आधारभूत कुरा बुझाउनै बाँकी छ ।’ टोलीले धरान–४, बसन्तटारस्थित अग्र्यानिक गाउँदेखि दानाबारी गढीथुम्की हुँदै सेर्गेसम्म स्थानीयसँग पदमार्ग र होम स्टेको विषयमा छलफल पनि गरेको छ । टोलीले धरान–४ स्थित दानाबारी, हर्दियादेखि सेर्गे गाउँ हुँदै नाम्जेको बीचमा इको ट्र्याक र क्यानोनिङको लागि उपयुक्त स्थल फेला पारेको जानकारी दिएको छ । दानाबारीदेखि नाम्जेसम्म इको ट्र्याकमा वनस्पति, धरातलीय बनावट आकर्षक रहेको समितिका सदस्य लेखमणि जिमीले बताए । दानाबारी पछिल्लो समय धरानेहरूको लागि हाइकिङ गन्तव्य बनेको छ । यहाँको भ्यु प्वाइण्टबाट मौसम खुल्दा धरानको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ भने तराईको मनोरम दृश्य पनि देखिन्छ । पदमार्गमा पहिचान भएका क्षेत्रहरूमा पर्यटनसम्बन्धीको सचेतना कार्यक्रमसहित भौतिक संरचना निर्माण गरिने पर्यटन प्रवर्द्धन समितिले योजना बनाएको छ । पदमार्गमा दानाबारीसम्म १ दिनको हाइकिङ गर्न सकिन्छ भने २ दिन एक रात वा ३ दिन २ रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)