ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खत्रक्पालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन जोड

Jan 17, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

इलाम । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले ज्ञान प्राप्त गरेको स्थान पश्चिमी इलामको खत्रक्पालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय युवाले समिति गठन गरी जुटेका छन् । माई र देउमाई खोलाको सङ्गमस्थल फुलुङ्गी क्षेत्रमा पर्ने यो खत्रक्पा अनकण्टार र दुर्गममा पर्ने भएकाले सडक, खानेपानी, धर्मशाला, चर्पी र जग्गा व्यवस्थापन जरुरी भएको विभिन्न सरोकारवालाले औंल्याएका छन् । खत्रक्पा धार्मिक पर्यटकीय क्षेत्र पूर्वाधार संरक्षण समितिले माघे सङ्क्रान्तिको अवसर पारेर आयोजना गरेको सत्य तथ्य खोजअनुसन्धान कार्यक्रममा माई नगरका मेयर दीपकचन्द्र थेवेले खत्रक्पाको विकासका लागि माई नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका मिलेर पहल थाल्नुपर्ने औंल्याए । माई नगरपालिकाले खत्रक्पा क्षेत्रमा पूर्वाधारका लागि ४ लाख र दानाबारी फुलुङ्गी मार्गलाई ३० लाख विनियोजन गरेको जानकारी दिए । देउमाई नगरका वडासचिव प्रेमसागर बरालले खत्रक्पा क्षेत्रमा चर्पी, खानेपानी र धर्मशालाको अभाव भएकाले पहल गरिने जानकारी दिए । खत्रक्पा क्षेत्र सबैको महत्त्वको क्षेत्र भएकाले आफूहरूले जग्गा उपलब्ध गराएको र आवश्यक परेमा थप उपलब्ध गराउन तयार रहेको स्थानीय दीर्घ रैकाले बताए । खत्रक्पा र फुलुङ्गी क्षेत्रको महत्त्व र वातावरणीय महत्त्व उजागर गर्नका लागि सडक निर्माण र होम स्टेजस्ता कार्यक्रम आवश्यक रहेको सरोकारवालाले बताएका छन् । फुलुङ्गी तीर्थ मार्ग निर्माण समितिका अध्यक्ष गङ्गा प्याकुर्‍यालले लारुम्बा फुलुङ्गी हुँदै जितपुर जोड्ने तीर्थ मार्गमा दाताको सहयोगले करोड बढी सङ्कलन गरी कार्य सम्पन्न भएकाले जसोतसो जीप चलिरहेको बताए । समितिले माघ १ गते मुन्धुम सेवा पूजा गरी महागुरु फाल्गुनन्दको सम्झना गरेका छन् । देउमाई नगरपालिका ९ मा माई किनारमा रहेको यो क्षेत्रमा किरात धर्मगुरु फाल्गुनन्दले तपस्या गरी ज्ञान प्राप्ति गरेका थिए । किरात धर्मका लागि महत्त्वपूर्ण यो फूलुङ्गी क्षेत्रमा प्रत्येक माघे सङ्क्रान्तिका दिन मेलासमेत लाग्ने गरेको छ । समितिका अध्यक्ष लोकबहादुर लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा साङ्गीतिक कार्यक्रमसमेत प्रस्तुत भएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)