अभियान संवाददाता
माघ ३, दाङ । प्रदेश नम्बर पाँचको अस्थायी राजधानी दाङ तोक्नुपर्ने माग गर्दै आन्दोलनकारीहरु पूर्व–पश्चिम राजमार्गमै धर्ना वसेपछि सो राजमार्ग भएर चल्ने यातायात सेवा ठप्प भएको छ ।
प्रदेशको राजधानी माग गर्दै बुधवारदेखि अनिश्चितकालिन दाङ बन्दको घोषणा गरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङमा स्थानीय आन्दोलनकारीहरु सडकमै वसेपछि राजमार्गको यातायात सेवा बुधवार विहानैदेखि ठप्प भएको हो ।
स्थानीयको अवरोधपछि काठमाडौं, पोखरा, भैरहवाबाट दाङसहित पश्चिमतर्फ जाने यातायातका साधन भालुवाङमै अलपत्र परेका छन् । जिल्लाको मुख्य बजार घोराही, तुलसीपुर, लमही, भालुवाङलगायतका क्षेत्रमा राजधानी माग गर्दै विहानैदेखि भइरहेका प्रर्दशन र अनिश्चितकालिन बन्द आह्वानका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ ।
जिल्लाका अन्य स्थानमा सरकारी कार्यालय सञ्चालनमा आए पनि तुलसीपुर क्षेत्रमा आन्दोलनकारीले सरकारी कार्यालय पनि बन्द गराएका छन् । दाङलाई प्रदेश नम्बर पाँचको राजधानी घोषणा नगर्दासम्म आन्दोलन र जनदवाव जारी रहने दाङ प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष नारायण भुसालले बताएका छन् ।