ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यापार मेलामा ७ करोड रुपैयाँको व्यवसाय

Jan 19, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा सफल राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ । पुस २७ गते शुरू मेलामा बिहीवारसम्म करीब ७ करोड रुपैयाँबराबरको व्यवसाय भएको सङ्घका महासचिव तथा प्रचारप्रसार संयोजक दामु अधिकारीले जानकारी दिए । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित मेलाको १ लाख २० हजार जनाले अवलोकन गरेका छन् । मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता देखिएको सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले बताए । ‘दर्शकको उपस्थितिले हामीलाई उत्साही बताएकोे छ,’ उनले भने, ‘बाँकी दिन मेलामा अझ बढी दर्शक बढ्ने हामीले विश्वास लिएका छौं ।’ मेला सोमवारसम्म चल्नेछ । व्यापार मेलासँगै दोस्रो मोबाइल मेला पनि जारी छ । डोममा सञ्चालित मोबाइल मेलामा मोबाइल खरीद गर्दा ५ देखि ५० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ । छूटले मोबाइल खरीद गर्ने ग्राहक बढेको पालिखेले बताए । मेलामा मोबाइल एक्सचेञ्ज अफर प्रमुख आकर्षण बनेको सङ्घका उपमहासचिव अर्जुन पोखरेलले जानकारी दिए । बिहीवारमात्र १ सयओटा भन्दा बढी मोबाइल साटफेर गरिएको उनले बताए । ‘पुरानो मोबाइलको मूल्याङ्कन गरी आफूले रोजेको जुनसुकै ब्राण्डको मोबाइल किन्न पाउने अफरले अवलोकनकर्ता उत्साहित बनेको छन्,’ उनले भने । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउने लक्ष्यसहित मेला आयोजना गरिएको हो । ‘लगानीको संवर्द्धन : उद्योग व्यवसायको प्रवर्द्धन’ नाराका साथ आयोजित मेलाले प्रदेश नम्बर ४ को व्यवसाय विस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गरिरहेको महासचिव अधिकारीले बताए । मेलाको प्रवेश टिकटमा बम्पर उपहारअन्तर्गत हुण्डाईको इओन गाडी प्रदान गरिने भएको छ । मेला समापनको दिन प्रवेश टिकटमध्ये गोलाप्रथाद्वारा गाडी उपहार दिइनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)