ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ महीनामा ११ करोड कित्ता साधारण शेयर बजारमा

Jan 21, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ महीनाभित्रमा धितोपत्र बजारमा करीब ११ करोड कित्ताबराबरका साधारण शेयर (आईपीओ र एफपीओ) बजारमा छोड्न स्वीकृत गरेको छ । बैङ्किङ, बीमा, लघुवित्त र जलविद्युत् कम्पनीहरूको सो सङ्ख्याको धितोपत्र जारी गर्न बोर्डले स्वीकृति दिएको हो । चालू आर्थिक वर्ष २०७४/७५ मा धितोपत्र बोर्डले ९ कम्पनीको आईपीओ र तीन कम्पनीको एफपीओ जारी गर्न स्वीकृति दिएको थियो । आईपीओ ल्याउन स्वीकृति पाएका कम्पनीको कुल ९ करोड ६७ लाख ५५ हजार ७ सय ५० कित्ता र एफपीओ जारी गर्न स्वीकृति पाएका कम्पनीको कुल ५७ लाख १५ हजार ५ सय ६५ कित्ता शेयर छ । त्यस्तै, १५ कम्पनीको आईपीओ र एक कम्पनीको एफपीओ पाइपलाइनमा छ । पाइपलाइनमा देखिएका कुल ४ करोड ७७ लाख कित्ता शेयर धितोपत्र बोर्डबाट स्वीकृत हुन बाँकी छ । बुटवल पावर कम्पनीले एफपीओ जारी गर्न धितोपत्र बोर्डबाट मङ्सिर १८ गते नै स्वीकृति पाइसके पनि जारी गर्न बाँकी छ । कम्पनीले रू. ५ सय १ का दरले ४० लाख ८१ हजार कित्ता शेयर जारी गर्न लागेको हो । यसका लागि विक्री प्रबन्धक एनएमबी क्यापिटल छ । नेपाल ग्रामीण विकास बैङ्क र प्रिमियर इन्स्योरन्स (नेपाल)ले भने एफपीओ जारी गरिसकेका छन् । त्यसैगरी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, राधी विद्युत् कम्पनी र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीहरूले आईपीओ जारी गरिसकेका छन् । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण शेयरको बाँडफाँट गर्न बाँकी छ । यो संस्थाले माघ ९ देखि माघ १२ गतेसम्म साधारण शेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएका आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र कालिका पावर कम्पनीले भने अझै आह्वानपत्र जारी गरिसकेको छैन । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत्को आईपीओमा ढिलाइ भएको छ । कम्पनीहरूले बोर्डबाट स्वीकृति पाएको २ महीनाभित्र साधारण शेयर जारी गर्नुपर्ने प्रावधान छ । रसुवागढीका माधवप्रसाद कोइरालाले कम्पनीको हालै सम्पन्न साधारणसभाको विवरण बोर्डलाई पेश गरिसकिएको र २ हप्ताभित्र आह्वानपत्र जारी गरिने बताए । त्यस्तै, साञ्जेनको पनि आवश्यक विवरण पेश गर्न ढिला भएकोले आह्वानपत्र जारी नभएको हो । साधारण शेयर जारी गर्न १३ हाइड्रोपावर कम्पनी, दुई लघुवित्त कम्पनी पाइपलाइनमा छन् । एनएमबी बैङ्कले भने १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ताको एफपीओ शेयर जारी गर्न लागेको छ । त्यसका लागि बैङ्कले धितोपत्र बोर्डलाई जेठ २२ गते नै निवेदन दिएको थियो । बोर्डले बैङ्कलाई ‘रेगुलेटरी कम्प्लायन्स’ स्पष्ट पार्न अनुरोध गरेको छ । जलविद्युत् कम्पनीमा जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, आखुखोला जलविद्युत् कम्पनी, गरजङ्ग उपत्यका हाइड्रोपावर, लाफिङ बुद्ध पावर नेपाल, युनिक हाइडेल कम्पनी, सीईडीबी हाइड्रो फण्ड र युनियन हाइडोपावर छन् । साथै, मैलुङ खोला जलविद्युत् कम्पनी, घलेम्दी हाइड्रो, माउण्टन हाइड्रो नेपाल, राइराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर र शुभम् पावर छन् । लघुवित्त कम्पनीहरूमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था र आशा लघुवित्त वित्तीय संस्था छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)