ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

विद्युत् दिन तयार प्राधिकरण : सबस्टेशन बनाउन प्राधिकरणको मुख ताक्दै ‘सेज’

Jan 22, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आगामी चैतभित्र भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म विद्युत् पुर्‍याउन नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ । हाल त्यहाँ रहेको ३३ किलोभोल्ट (केभी) सिङ्गल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत् दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारण लाइन बनाउन लागेको हो । प्राधिकरणले तिलोत्तमा नगरपालिकाको जोइकुटी सबस्टेशनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिरहेको छ । वनक्षेत्र भएर प्रसारण लाइन लैजानुपर्ने भएकाले जोइकुटी–भरौलिया खण्डमा काम अवरुद्ध भएको छ । त्यसैगरी, भरौलिया–दगदही खण्डमा प्रसारण लाइनको रूट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन् । अवरोध हटाएर काम सुचारू गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकारवालाबीच छलफल भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पुर्‍याउँछौं, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रा तर्फबाट कुनै समस्या हुँदैन,’ उनले भने ‘तर, सेजका तर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको देखिँदैन ।’ उद्योगहरूलाई विद्युत् दिन सेजले बनाउनुपर्ने ३३/११ केभीको सबस्टेशन (१० एमभीए) निर्माणको प्रक्रिया अहिलेसम्म अघि बढेको छैन । यसले गर्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्‍याए पनि सबस्टेशन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले विद्युत् पाउने छैनन् । प्राधिकरणको कार्यक्षेत्र (स्कोप) सेजसम्म विद्युत् पुर्‍याउन ट्रान्समिशन लाइन निर्माण गर्ने मात्रै हो । त्यसपछि सबस्टेशन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको जिम्मेवारीभित्र पर्छ । भैरहवा सेजले सबस्टेशन बनाई ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिने व्यवस्था गर्नुपर्छ । तर, सबस्टेशन निर्माणका लागि अहिलेसम्म बोलपत्र आह्वानसमेत भएको छैन । प्राधिकरणले निर्माण गरिरहेका सबस्टेशनको अनुभव हेर्दा बोलपत्र आह्वान गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महीना लाग्छ । त्यसपछि सामान खरीददेखि काम सक्न छिटोमा १५ देखि १८ महीना लाग्छ । अर्थात्, सामान्य अवस्थामा बोलपत्र आह्वानको सम्पूर्ण प्रक्रिया सकेर सबस्टेशन निर्माण सम्पन्न गर्न कम्तीमा पनि २ वर्ष लाग्ने प्राधिकरणको अनुभव छ । प्राधिकरणलाई दोषी देखाएर सेज व्यवस्थापन आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । ‘त्यहाँ खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् दिइसकेका छौं, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन,’ उनले भने, ‘सबस्टेशन बनाउने आफ्नो जिम्मेवारी पूरा नगरेको सेज व्यवस्थापनले विद्युत् जोडिएको छैन भन्दै हामीलाई दोष दिन मिल्दैन ।’ सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीले समेत विद्युत् नभएको भन्दै काम नै गरेका छैनन् । तर, उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् भने ११ केभी लाइनमार्फत उपलब्ध गराइएको प्राधिकरणले बताएको छ । सबस्टेशन निर्माणमा प्राधिकरणको प्राविधिक सहयोग लिने तयारी भइरहेको सेजका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले आर्थिक अभियानलाई जानकारी दिए । ‘हाम्रो विज्ञता नभएकाले सबस्टेशन प्राधिकरणले निर्माण गरिदेओस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘कन्सल्ट्याण्ट लगाएर तयार पारिएको सबस्टेशनको टेक्निकल इन्ष्टलेशनको प्रतिवेदन प्राधिकरण पठाइसकेका छौं ।’ आफूहरू प्राधिकरणको प्रतिक्रियाको पर्खाइमा रहेको कार्यकारी निर्देशक भट्टले बताए । यदि सकारात्मक प्रतिक्रिया आए उद्योग मन्त्रालयको बजेट र प्राधिकरणको प्राविधिक सहयोगमा सबस्टेशनको निर्माणअघि बढ्ने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)