अभियान संवाददाता
काठमाडौं । विश्व बैङ्कले नेपालको आर्थिक तथा सामाजिक महत्त्वका तीनओटा ठूला परियोजना कार्यान्वयन गर्न करीब रू. ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण दिने भएको छ । सोसम्बन्धी समझदारी पत्रका सरकारका तर्फबाट अर्थसचिव शङ्करप्रसाद अधिकारी र बैङ्कका नेपाल मामिला प्रमुख किमिआवो फ्यानले आइतवार हस्ताक्षर गरे । विश्वबैङ्कले सरकारलाई व्यावसायिक शिक्षा तथा तालीम परियोजना (दोस्रो चरण), पशुपालन नवप्रवर्तन र भूकम्पपछिको आवासीय भवन पुनर्निर्माणका ३ परियोजना कार्यान्वयनका लागि उक्त ऋण सहयोग गरेको हो । हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र बैङ्कका दक्षिण–एशिया मामिला हेर्ने उपप्रमुख एण्टेन डिक्सन उपस्थित थिए ।
सहमतिअनुसार उक्त ऋण रकममध्ये रू. ६ करोड नेपालको व्यावसायिक शिक्षा तथा तालीम परियोजनामा खर्च हुनेछ । शिक्षा मन्त्रालयले सञ्चालन गर्ने सो परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका शिक्षक, विद्यार्थी, प्राविधिकलगायत लाभान्वित हुनेछन् । त्यसैगरी रू. ८ करोड पशुपालन नवप्रवर्तनको परियोजनामा खर्च गरिनेछ । पशुपक्षी विकास मन्त्रालयमार्फत देशका २५ जिल्लामा सञ्चालन हुने सो परियोजनाको गरीबी न्यूनीकरणमा उल्लेख्य भूमिका हुने सरकारी अपेक्षा छ । दिगो विकासको लक्ष्य भेटाउन विपन्न समुदायको बाहुल्य रहेका जिल्लाहरूमा यो परियोजना लागू हुनेछ ।
ऋण रकमको सबैभन्दा ठूलो अंश रू. ३१ अर्बभन्दा बढी रकम भने भूकम्पपछिको पुनर्निर्माणमा खर्च गरिनेछ । यो रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत खर्च हुनेछ । उक्त रकम नुवाकोट, धादिङ र दोलखा जिल्लाका ९६ हजार निजी आवास निर्माणमा खर्च गर्ने सरकारी तयारी छ । अर्थमन्त्रालयले आइतवार भएको ऋण सहयोगलाई विश्व बैङ्कले नेपालमा गरेको हालसम्मकै ठूलो सहयोग भनेको छ ।
ऋण समझदारी पत्रमा हस्ताक्षर भएपछि बैङ्कका नेपाल मामिला प्रमुख किमिआवो फ्यानले सबै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नेपाल अब विकासको चरणमा प्रवेश गरेको बताए । उनले नेपालको आर्थिक सामाजिक विकासमा बैङ्कको सहयोग महत्वपूर्ण हुने भन्दै सङ्घीयताले नागरिकलाई समान अवसर र धेरै सुविधा दिने बताए । अर्थसचिव अधिकारीले ऋण सहयोगमा सञ्चालन हुने सबै परियोजनामा सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।