ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असारसम्म अनुदान लिएकालाई चैतसम्म दोस्रो किस्ता

Jan 26, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । २०७३ पुसदेखि २०७४ असारसम्म पहिलो किस्ताकोे अनुदान लिने भूकम्पपीडितले आगामी चैतसम्म दोस्रो किस्ताको अनुदान पाउने भएका छन् । प्राधिकरणका अनुसार गतवर्षको पुसदेखि असारसम्म पहिलो किस्ता लिएकाले चैतसम्म दोस्रो किस्ताको अनुदान पाउनेछन्, तर सो समयावधिभित्र पहिलो किस्ताको अनुदान लिए पनि चैतपछि भने दोस्रो किस्ता पाउने छैनन् । भूकम्पपीडित लाभग्राहीको सूचीमा समावेश भएर पहिलो किस्ताको अनुदान लिएकाले आवास निर्माणमा चासो नदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयसीमा तोकेरै दोस्रो किस्ताको अनुदान दिने व्यवस्था गरेको हो । यसअघि प्राधिकरणले २०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा गत पुस मसान्तसम्म तोकिएको थियो । प्राधिकरणका अनुसार यो व्यवस्था सबै भूकम्पपीडित लाभग्राहीको हकमा भने लागू हुँदैन । प्राधिकरणका सहप्रवक्ता डा.भीष्मकुमार भुसालले पहिलो किस्ताको रकम सबै स्थानमा एकै समयमा वितरण नगरिएकाले यो सबै भूकम्पपीडितको हकमा भने लागू नहुने बताए । पहिलो किस्ता लिइसकेर पुस मसान्तसम्म आवश्यक मापदण्ड पूरा गरी दोस्रो किस्ताका लागि निवेदन नदिने भूकम्पपीडितलाई अनुदान रकम उपलब्ध नगराउने पनि स्पष्ट पारेको छ । दोस्रो किस्ताको अनुदान लिन तयार भई प्रक्रियामा रहेका तर हाल गाउँपालिका र नगरपालिकाको सम्पर्कमा आउन नसकेकाहरूले भने दोस्रो किस्ताको अनुदान रकम पाउनेछन् । प्राधिकरणका सहप्रवक्ता डा. भुसालले सरकारका कुनै पनि निकायका कारण दोस्रो किस्ताको अनुदान लिन ढिलाइ भएको स्पष्टीकरणका आधारमा प्राधिकरणको निर्देशक समितिको निर्णय भए अनुदान पाउने व्यवस्था हुने बताए । उनले भने, ‘घर बनाउने भनेर पहिलो किस्ता लिएका तर अन्य प्रयोजनमा खर्च गरेकाले पनि दोस्रो किस्ता पाउने छैनन् ।’ प्राधिकरणका अनुसार प्रमाणीकरण भएर दोस्रो किस्ता लिन प्रक्रियामा रहेका भूकम्पपीडितको हकमा भने पुस मसान्तसम्मको समयसीमाले कुनै प्रभाव पार्ने छैन । आवश्यक प्रक्रिया पुर्‍याए उनीहरूले अनुदान पाउनेछन् । डा. भुसालले यी विषय निर्देशक समितिको बैठकको निर्णय गरे मात्रै कार्यान्वयनमा आउने बताए । प्राधिकरणका अनुसार दोस्रो किस्ता लिने समयावधि थप्ने सम्भावना कम छ । यस्तै प्राधिकरणले उक्त समयसीमा निर्धारण गरेपछि भूकम्प अतिप्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको सङ्ख्यामा वृद्धि भएको छ । प्राधिकरणको मङ्गलवारसम्मको तथ्याङ्कअनुसार दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको सङ्ख्या २ लाख ४ हजार ९ सय ९३ पुगेको छ । दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकामध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकका ३७ हजार ३ सय ८८ लाभग्राही छन् भने सबैभन्दा कम भक्तपुरका १ हजार ९ सय २१ लाभग्राही छन् । प्राधिकरणका अनुसार अतिप्रभावित १४ जिल्लामा पुनर्निर्माण सम्पन्न भएका र निर्माणाधीन घरको कुल सङ्ख्या ३ लाख ६० हजार ४ सय ७८ पुगेको छ । निर्माण सम्पन्न भएका घरको सङ्ख्या भने ९० हजार २ सय ६२ छ भने निर्माणाधीन घरको सङ्ख्या २ लाख ७० हजार २ सय १६ पुगेको प्राधिकरणको तथ्याङ्क छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)