ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनीको भन्सार महशुल ५०% पुर्‍याउन माग

Jan 29, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । चिनी उद्योगी तथा व्यवसायीहरूले चिनी आयातमा लाग्दै आएको भन्सार महशुल बढाएर ५० प्रतिशत पुर्‍याउन सरकारसँग माग गरेका छन् । हाल चिनी आयातमा १५ प्रतिशत भन्सार महशुल लिने गरिएको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा चिनीको मूल्यमा आएको कमीसँगै स्वदेशी चिनी उद्योगले विश्वबजारमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उनीहरूले भन्सार महशुल बढाउन माग गरेका हुन् । शतप्रतिशत राष्ट्रिय प्राथमिकतामा रहेको स्वदेशी कृषिजन्य उद्योगहरूको संरक्षणका लागि चिनीमा लाग्दै आएको आयात महशुल बढाएर भन्सार मू्ल्याङ्कनसमेत वृद्धि गर्नुपर्ने नेपाल चिनी उद्योग सङ्घले माग गरेको छ । सङ्घका महासचिव राजेश केडियाका अनुसार अन्तरराष्ट्रिय बजारमा सन् २०१७ को जनवरीमा चिनीको मूल्य प्रतिटन करीब ५ सय ५० अमेरिकी डलर रहेकोमा अहिले मूल्य घटेर ४ सय २५ अमेरिकी डलर कायम भएको छ । उनका अनुसार नेपालमा आयात गरिने चिनीको लागत मूल्य निकै कम भएका कारण पनि नेपाली उत्पादन विदेशी चिनीभन्दा महँगो पर्न जान्छ । सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले नेपाली बजारमा खपत हुने चिनी स्वदेशमै उत्पादन गर्न सकिने दाबी गरेका छन् । उनले भने, ‘अहिले अन्तरराष्ट्रिय बजारमा चिनीको मूल्य घटेकाले स्वदेशी चिनीले आयातित चिनीसँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले भन्सार महशुल १५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउन आवश्यक छ ।’ अन्यथा, आयातित चिनीसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसकेर स्वदेशी उद्योग धराशयी हुने उनको ठहर छ । उनले भन्सार दर बढाउँदैमा चिनीको हालको मूल्यमा घटबढ नहुनेसमेत दाबी गरे । उद्योगहरूलाई धराशयी हुनबाट जोगाउन स्वदेशी चिनी उद्योगबाट लागत मूल्यमा नै सरकारले सम्पूर्ण चिनी खरीद गर्ने व्यवस्था मिलाउन पनि सङ्घले आग्रह गरेको छ । समस्याको दीर्घकालीन समाधानका लागि नेपाल चिनी तथा उखु बोेर्ड गठन गर्नसमेत चिनी उद्योगी व्यवसायीहरूले माग गरेका छन् । पाकिस्तान सरकारले कृषकको संरक्षणका लागि निकासीका आधारमा उद्योगलाई प्रतिकिलो चिनीमा १० रुपैयाँ ७० पैसा नगद अनुदान दिएजस्तै नगद अनुदान उपलब्ध गराउन पनि सङ्घको माग छ । सङ्घले यी माग पहिलेदेखि नै उठाउँदै आए पनि सुनुवाइ नभएको बताएको छ । चिनी उद्योगीहरूका अनुसार हाल मुलुकमा करीब २ लाख २५ हजार टन चिनीको माग रहेको छ । त्यसमध्ये करीब १ लाख ७५ हजार टन स्वदेशमै उत्पादन भइरहेको छ । करीब ५० हजार टन चिनी औपचारिक तथा अनौपचारिक रूपमा भित्रिने गरेको सङ्घले बताएको हो । मुलुकमा १३ ओटा चिनी उद्योग सञ्चालनमा छन् । ती चिनी उद्योगबाट प्रत्यक्षतः करीब १ लाख उखु कृषक परिवार लाभान्वित भएका छन् । त्यस्तै अप्रत्यक्ष रूपमा करीब २ लाखलाई रोजगारी उपलब्ध गराएको सङ्घको दाबी छ । यस वर्ष उखुको मूल्यबराबर कृषकलाई मात्रै करीब ११ अर्ब रुपैयाँ भुक्तानी गरिने सङ्घले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)