ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेपाल ऊर्जा लगानी सम्मेलन : जलविद्युतमा एफडीआई नआउनुमा धेरै पक्ष बाधक

Jan 29, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । राजनीतिक अस्थिरतादेखि प्रोत्साहनसम्मको समस्याका कारण जलविद्युत् आयोजनाको विकासमा वैदेशिक लगानी (एफडीआई) आउन नसकेको लगानीकर्ताहरूले बताएका छन् । राजधानीमा चलिरहेको नेपाल ऊर्जा लगानी सम्मेलनका वक्ताहरूले त्यस्तो बताएका हुन् । सम्मेलनका क्रममा आइतवार भएको ‘नेपालको ऊर्जाक्षेत्रमा वैदेशिक लगानी’ शीर्षकको विज्ञहरूबीचको छलफलमा सतलज जलविद्युत् निगमका अध्यक्ष एनएल शर्माले राजनीतिक अस्थिरता, वन तथा जग्गा प्राप्ति र करमा प्रोत्साहनको कमीजस्ता समस्या रहेको बताए । सतलजले अरुण तेस्रो जलविद्युत् आयोजना (९०० मेवा) को विकास गर्दै छ । कुनै पनि आयोजना बन्नुअघि नै प्रसारण लाइनको सुनिश्चितता गरिसक्न उनले सरकारलाई सुझाव पनि दिए । फाइनान्स एट इक्वीक्याप एशियाका उपाध्यक्ष अपार न्यौपानेले विभिन्न सरोकारवालाको स्वार्थ बाझिनु पनि नेपालमा एफडीआई नआउनाका कारण भएको धारणा राखे । ‘सरकारदेखि आयोजना प्रभावित क्षेत्र, डेभलपरदेखि कण्ट्र्याक्टर, लगानीकर्तासम्म धेरै नै सरोकारवाला जोडिन्छन्,’ उनले भने, ‘तिनीहरू सबैको आआफ्नै स्वार्थ हुन्छ, उनीहरूको स्वार्थ जति धेरै बाझिन्छ, त्यति नै आयोजना बन्ने सम्भावना कम हुन्छ ।’ कार्यक्रममा भियतनामको ड्र्यागन क्यापिटलका निर्देशक जोसेफ होसले आधारभूत काममा व्यवधान आउनुले विदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने बताए । ‘हामी निजीक्षेत्र छोटो समयमै कसरी धेरै मुनाफा आउँछ भन्ने हेरिरहेका हुन्छौं,’ उनले भने, ‘तर, नेपालमा अनुमति पाउन तथा क्लियरेन्सजस्ता आधारभूत काममा ५ वर्ष बित्छ ।’ यस्तोमा कोही पनि आफ्नो धेरै समय खर्चिन नचाहने उनले बताए । स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको कमर्शियल एण्ड ग्लोबल बैङ्किङका प्रमुख गोरख राणाले नेपालका बैङ्कहरूले सञ्चारको कमीले जलविद्युत्मा पर्याप्त फाइनान्सिङ गर्न नसकिरहेको बताए । ‘हालै मात्र हामी ठूला जलविद्युत्का प्रवद्र्धकसँग सामञ्जस्य हुन खोज्दै छौं,’ उनले थपे, ‘नसकेर होइन, उपयुक्त सञ्चारको कमीले हालसम्म सक्ने जति पनि फाइनान्सिङ नभइरहेको हो ।’ जापानी सहयोग नियोग (जाइका)का प्रतिनिधि नाओकी निसिमुराले भने एफडीआई आकर्षित गर्न बलियो स्थानीय साझेदार आवश्यक रहेकोमा जोड दिए । विदेशी लगानीकर्ताका लागि स्वपूँजी फाइनान्सिङ तथा पृष्ठभूमिको काममा दक्षतापूर्वक भूमिका खेल्नसक्ने स्थानीय साझेदारले नै नेपालको ऊर्जाक्षेत्रका लागि ठूलो आकारको विदेशी लगानी ल्याउन सक्ने उनले बताए । शनिवारदेखि शुरू भएको ऊर्जा सम्मेलन सोमवार सकिनेछ । कार्यक्रममा सार्क राष्ट्र, यूरोप, चीन, कोरिया, अमेरिकालगायत २४ देशका ३ सय ५० सहभागी रहेको आयोजक इनर्जी डेभलपमेण्ट काउन्सिलले जानकारी दिएको छ । सम्मेलनले नेपालको ऊर्जाको विकासका लागि विदेशी लगानी आकर्षित गर्ने आयोजकको विश्वास छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)