मोदीको फोन र स्वराजको भ्रमणले भारतसँगको सम्बन्ध सुध्रियो : नेता ज्ञवाली
Feb 4, 2018
 
समाचार
अभियान संवाददाता
माघ २१, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको विषयमा उठेका विवादको बचाउ गर्दै नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नयाँ सरकार बने लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने बताएका छन् । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता ज्ञवालीले स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गरे ।
स्वराजको भ्रमणले आगामी फागुनमा एमालेको नेतृत्वमा सरकार गठन हुने र त्यसपछि भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने वातावरण बनाएको उनको भनाई छ । मोदीले दुई पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गरेको फोन सम्पर्क र स्वराजको भ्रमणले वाम गठबन्धन र भारतवीचको सम्बन्ध सुमधुर बनाएको उनको भनाई छ ।
ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको भ्रमण रोकिएको स्मरण गराउँदै नेपाल भ्रमणको निम्तो दिएको पनि ज्ञवालीले बताए । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुधार भएको उनको विश्वास छ । ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा भएको अविश्वास हटेको दाबी गरेका हुन् ।
स्वराजको भ्रमण भारत सरकारको रुचिअनुसार भएको दाबी गर्दै ज्ञवालीले अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको पनि बताए । “वामपन्थीको बहुमत आएकोमा बधाई दिँदै नयाँ सरकार गठनपछि सहकार्य गरौँ भन्नका लागि स्वराज आउनुभएको हो । नयाँ सरकारसँग सहकार्य गर्नका लागि वातावरण बनोस् भन्ने भारतको चाहना हो”, ज्ञवालीले भने ।
विगतमा नेपालमा नयाँ सरकार बन्ने बेलामा नेपालकै नेताहरु भारत दौडिने गरेकोमा अहिले भारतका मन्त्री नेपाल आउनु सकारात्मक भएको उनको प्रतिक्रिया थियो । स्वराजको भ्रमणका क्रममा संविधान जारीपछिको नीतिमा भारतले पुनरावलोकन गर्न चाहेको संकेत पाइएको ज्ञवालीको भनाई छ । यद्धपी पछिल्लो समय नेपाल–भारतबीचको अविश्वास हटेर गएको भएपनि आगामी दिनमा कस्तो हुन्छ भन्ने ठोकुवा गर्न नसकिने ज्ञवालीको भनाई छ ।
“अब समस्या आउँदैन भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । कहिले अदुवा, कहिले चिया, कहिले कुचो निर्यातमा अवरोध भैरहेको छ । यसले नेपालको व्यापार घाटा बढाएको छ ।” उनले भने ।