अभियान संवाददाता
माघ २१, वीरगञ्ज । २ नम्बर प्रदेशको अस्थायी मुकाम जनकपुरमा प्रदेशसभाको पहिलो बैठक बसिरहँदा विगत मधेस आन्दोलनको उर्वरभूमि वीरगञ्जमा भने राजधानी माग गर्दै बन्द आह्वान गरिएको छ । वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने भन्दै आइतवार वीरगन्ज बन्द गरिएको हो ।
विगत डेढ महीनादेखि आन्दोलन गर्दै आइरहेको वीरगञ्ज राजधानी सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण स्थानीय जनजीवन प्रभावित भएको छ । जनकपुरमा भइरहेको प्रदेशसभाको पहिलो बैठकमा सहभागी सदस्यहरूलाई खबरदारी गर्न बन्द आह्वान गरिएको सङ्घर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताले बताए ।
मधेसको अधिकारका लागि भन्दै २ वर्षअघि वीरगञ्जमा भएको बन्दहड्ताल र नाकाबन्दीताका आन्दोलनका अगुवाहरूले वीरगञ्जलाई प्रदेश राजधानी बनाउने आश्वासन दिएकोमा अहिले बदनियतपूर्ण तरिकाले जनकपुरको पक्षमा उभिएको आन्दोलनकारीको आरोप छ । वीरगञ्जलाई राजधानी बनाउन दबाब दिने उद्देश्यले पुस २१ देखि शुरु भएको रिले अनशनसहितको आन्दोलन माघ ३ गते सरकारले जनकपुरलाई अस्थायी मुकाम तोकपछि चर्किएको थियो । सङ्घर्ष समितिले यसअघि माघ ४ गते पनि वीरगञ्ज बन्द गराएको थियो ।
प्रदर्शनकारीले आइतबार वीरगन्जको घण्टाघर, माईस्थान, मुर्ली, पावरहाउस चोक, प्रतिमा चोक, नगवा, बहुअरीलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा पनि रोक लगाएका छन् ।
वीरगञ्जको बजार र शिक्षण संस्थाहरु पनि बन्द रहे । बन्द अवज्ञा गरेको भन्दै आन्दोलनकारीले आदर्शनगर र घण्टाघर चोकमा तीनओटा नीजी गाडी तोडफोड गरेका छन् ।