अभियान संवाददाता
काठमाडौं । नबिल बैङ्कले नेपालमै प्रथमपटक आफ्नो मर्चेण्ट नेटवर्कमार्फत युनियनपे इण्टरनेशनल क्युआर कोड एक्वेरिङ सेवाको शुरुआत गरेको छ । उक्त प्रणालीमार्फत क्यूआर कोडको प्रयोग गरी नबिल बैङ्कसँग आबद्ध मर्चेण्टहरूले युनियनपेका अन्तरराष्ट्रिय कार्डहरू स्वीकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको भुक्तानी लिन सक्ने बताइएको छ ।
क्विक रेस्पोन्स कोड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड)को एक प्रकार हो । बारकोड मेशिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश हुन्छ । क्यूआर कोड प्रणालीमार्फत उपभोक्ताले व्यापारिक विक्री केन्द्रमा रहेको क्यूआर कोडलाई आफ्नो फोनबाटै स्क्यान गरी आफूले रोजेको सामान र सेवाको भुक्तानी गर्न सक्नेछन् । यस भुक्तानी प्रणालीमा विद्यमान प्रक्रिया जस्तो फिजिकल प्वाइण्ट अफ सेल्स (पीओएस) टर्मिनलको आवश्यकता पर्दैन । साथै, कार्डको समेत सीधा सम्पर्क आवश्यक हुँदैन । क्यूआर कोडमार्फत गरिने भुक्तानी र सोसम्बन्धी जानकारी ग्राहककै मोबाइलमा उपलब्ध हुन्छ ।
‘यो सेवा नेपालमा डिजिटल बैङ्किङलाई बढावा दिन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले बताए । उनका अनुसार पहिलो चरणमा बैङ्कले यो सेवा मुख्य रूपमा चिनियाँ पर्यटकलाई लक्षित गरेको छ ।
नेपालमा नबिल बैङ्क भिसा इण्टरनेशनल, माष्टर कार्ड इण्टरनेशनल र युनियनपे इण्टरनेशनलको मुख्य सदस्य हो । यसले डेबिट, प्रिपेड, क्रेडिट कार्ड जारी गर्दछ । साथै, उक्त कार्डबाट एटीएम, पीओएस तथा पेमेण्ट गेटवे सञ्जालमार्फत कारोबार स्वीकार हुन्छ । नबिल बैङ्कले युनियनपे इण्टरनेशनलको सहकार्यमा यो थप सेवाको शुरुआत गरेको हो ।
युनियनपे इण्टरनेशनल (यूपीआई) अन्तरराष्ट्रिय भुुक्तानी गर्ने सङ्गठन चाइना युनियनपे को एक सहायक संस्था हो । यूपीआईले विश्वभरि १ हजार ७ सयभन्दा बढी संस्थासँग साझेदारी गरेको छ । यूपीआईद्वारा जारी गरिएका कार्ड १ सय ६८ देशमा स्वीकार्य हुन्छन् । साथै, यस्ता कार्ड ४८ ओटा देशबाट जारी भइरहेका छन् । विश्वको सबैभन्दा ठूलो कार्ड प्रयोगकर्ताको संरचना रहेको युनियनपे इण्टरनेशनलले उच्च गुणस्तर, लागत प्रभावी र सुरक्षित अन्तरदेशीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।