अभियान संवाददाता
काठमाडौं । मिडिया स्पेश सोलुशन प्रालि र फुटुरेक्स टे«ड फेयर एण्ड इभेण्टको संयुक्त आयोजनामा काठमाडौंमा दोस्रो पटक बृहत् अन्तरराष्ट्रिय कृषि प्रदर्शनी ‘नेपाल एग्री टेक २०१८’ सञ्चालन हुने भएको छ । फागुन ३ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने उक्त मेला नयाँ–नयाँ प्रविधिको प्रयोगमार्फत नेपालको कृषिक्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
आयोजकका अनुसार प्रदर्शनीमा १ सय २० भन्दा धेरै प्रदर्शनीकर्ताको सहभागिता रहनेछ । नेपाल, भारत, मलेशिया, ताइवान, इटाली, इजरायल, बङ्लादेश, जर्मनी, बेलजियम, नेदरल्याण्डलगायत १० भन्दा बढी देशको सहभागिता रहनेछ । बिहान १० देखि बेलुका ६ बजेसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ४ दिनसम्म चल्ने प्रदर्शनीमा आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी, मत्स्यपालन, पोल्ट्री एवम् पशुपालन उद्योगसम्बन्धी विभिन्न प्रविधि राखिएका छन् । आधुनिक कृषियन्त्र र प्रविधिको दृष्टिबाट नेपालको कृषिक्षेत्र अझै टाढा रहेको वर्तमान अवस्थामा उक्त प्रदर्शनीले ठूलो सहयोग पुर्याउने विश्वास मेला आयोजक मिडिया स्पेश सोलुशन प्रालिका प्रबन्ध निर्देशक सृजल भट्टराईको छ । उनका अनुसार कृषि कर्मलाई झनै सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औजार र मेशिनदेखि कृषि, डेरी तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणको प्रदर्शनी एवम् डेमो कृषिक्षेत्रको यन्त्रीकरणमा कोशेढुङ्गा सावित हुनेछ ।
प्रदर्शनीको सहआयोजक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेको छ । प्रदर्शनीको मुख्य प्रायोजकमा इण्टरनेशनल ट्र्याक्टर्स लिमिटेड (सोनालिका) तथा सहप्रायोजकमा महिन्द्रा र पोषक दाना रहेका छन् । प्रदर्शनीलाई नेपाल पोल्ट्री महासङ्घ, कृषि उद्यम केन्द्र नेपाल, नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासङ्घलगायत संस्थाको सहयोग रहेको छ ।
कृषि गोष्ठीको आयोजना गरिने
प्रदर्शनीमा श्री किसान इनोभेशन हबसँगको साझेदारीमा कृषि, पशुपालन, माछापालन, कुखुरापालनलगायतका विषयमा विभिन्न विज्ञहरूको सहभागितामा प्राविधिक गोष्ठी आयोजना गरिनेछ । गोष्ठीमा कृषिक्षेत्रमा काम गरिरहेका विभिन्न सस्थाले कृषकहरूसमक्ष आधुनिक प्रविधिबारे जानकारी गराउनेछन् ।