ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

भक्ति, पवित्रता र ग्ल्यामरको पर्व

Feb 13, 2018  
प्रडक्ट.समाचार.
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
आज शिवरात्रि, नेपालमा यो पर्वको विशेष महत्त्व रहँदै आएको छ । भगवान् शिवका उपासक मात्र होइन, समस्त सनातन धर्मानुयायीको प्रिय दिन हो यो । त्यस्तै, यही दिन सेना दिवस मनाइने भएकोले शिवरात्रि आम नेपालीले आत्वगौरव गर्ने अवसर पनि हो । सरकारले यो दिन सार्वजनिक बिदा नै दिने गरेको छ । शिवरात्रिलाई मानव मन पवित्र बनाउने महाव्रत मानिएको छ । फागुन कृष्ण चतुर्दशीमा पर्ने यो पर्व नेपालसहित भारत, बङ्गलादेश, मलेशिया, थाइल्याण्ड, इङग्ल्याण्ड, अमेरिकालगायत देशका हिन्दूहरूले आ–आफ्नै परम्परा र विधिअनुसार शिवजीको पूजाआराधना गरेर मनाउँछन् । पूर्वीय आर्य सभ्यतामा मात्र होइन, वेबिलोन, मिश्र, रोम, युनान र चीनको सभ्यतामा समेत कुनै न कुनै रूपमा शिवको अस्तित्व पाइएको विभिन्न अध्ययनले देखाएका छन् । विश्वका विभिन्न धर्म, परम्परा, संस्कृतिका अनुयायीले समेत निराकार परमात्माको रूपमा शिवलाई स्वीकारेका छन् । यस अर्थमा शिवरात्रि समस्त मानव समुदायकै साझा पर्व हो । पछिल्ला वर्षहरूमा शिवरात्रि ‘ग्ल्यामर’को पर्वका रूपमा समेत देखिन थालेको छ । यो अवसरमा भारतबाट आउने जटाधारी नागा बाबा र सन्त–महन्तको पहिरन, हाउभाउ र गतिविधिले पनि यसलाई पुष्टि गर्छ । हुन त भगवान् शिवलाई नै ग्ल्यामरस देवता मान्न सकिन्छ । कम्मरमा बाघको छाला, गलामा मुण्डमाला, कानमा कुण्डल र शिरमा चन्द्रमाको टीका लगाउने, त्रिपुण्ड्र (भस्म) धस्ने, डमरु, त्रिशूल र कमण्डलु भिर्ने, साढेलाई वाहन बनाउने, श्मसान घाटमा रमाउने अनि ताण्डव नृत्य देखाउने शिवजी आफ्ना भक्तका लागि सधैं रहस्यमयी छन् । सामान्य भक्तले उनको यो हुलिया बुझ्नै मुश्किल हुन्छ । उनको वस्त्र, आभूषण र भावभङ्गिमा अन्य देवीदेवताको भन्दा बेग्लै छ । शिवजीको जादुमयी आकर्षणमा अहिलेका युवा पुस्तासमेत मस्त बनेको देखिन्छ । त्यसैले, उनलाई आफ्नो ‘फेबरेट गड’ मान्नेहरू धेरै छन् । काठमाडौंको पाशुपत क्षेत्रमा अहिले सयौं भारतीय नागा बाबा आएर बसेका छन् । तीमध्ये कतिपयले ज्ञान र वैराग्य पाएका पनि होलान् । तर दर्शनार्थी र पर्यटकका लागि भने उनीहरू आकर्षणका केन्द्र हुन् । धुनीको अघिल्तिर ‘जय शम्भो ! भन्दै गाँजा र भाङको सर्को तानिरहेका यी बाबाहरू देख्दा जो कोहीलाई अलौकिक महसूस हुन्छ । पौराणिक महत्त्व शिवरात्रिको शुरुआत कसरी भयो भन्ने सन्दर्भमा विभिन्न पुराणमा चर्चा गरिएको पाइन्छ । श्रीमद्भागवतमा एक प्रसङ्ग छ । जहाँ एकपटक देवता र दैत्य मिलेर भगवान्को निर्देशनअनुसार समुद्र मन्थनको योजना बनाए । अमृत निकाल्न यस्तो योजना बनाइएको थियो । तर, समुद्र मन्थनको समयमा सबैभन्दा पहिले हलाहल (कालकूट) विष निस्कियो । उक्त विषको तापले समस्त जगत् पीडित हुन थाल्यो । यो सङ्कट समाधानका लागि देवताहरूले शिवलाई प्रार्थना गरे । त्यसपछि यो संसारको कल्याणका लागि शिवजीले उक्त विष पिएर घाँटीमै राखे । विषको प्रभावले घाँटी नीलो भएकोले उनको नाम नै नीलकण्ठ रह्यो । यही दिनको सम्झनामा शिवरात्रि मनाउन थालिएको बताइन्छ । शैव परम्पराको कथाअनुसार फागुन कृष्ण चतुर्दशीकै रात शिवले जगत् संरक्षण र विनाशको नृत्य सृजना गरेका थिए । साथै, यो दिनलाई अग्निलिङ्ग (जुन महादेवको विशालकाय स्वरूप हो)द्वारा सृष्टिको शुरुआत भएको पनि मानिएको छ । र, यही दिन पहिले शिवलिङ्ग प्रकट भएको प्रसङ्ग पनि पाइन्छ । कतिपय पौराणिकहरू शिव र पार्वतीको विवाह पनि यसै दिन भएको मत राख्छन् । शिवरात्रि व्रतको महिमा पुरातन ग्रन्थमा एकै प्रकारले व्यक्त छ । यी सबैले शिवजीलाई प्रसन्न राख्न व्रत गरिने बताएका छन् । कलियुगमा मानिसहरू अल्पआयुका र रोगव्याधिले ग्रस्त हुने भएकाले त्यसबाट मुक्ति पाउन शिवपूजन र व्रत गर्नुपर्ने चर्चा शास्त्रहरूले गरेका छन् । मनुस्मृतिका अनुसार सृष्टिको आरम्भ गर्न एउटा अण्ड उत्पन्न भयो, जुन तेजस्वी र प्रकाशमय थियो । शिव पुराणमा पनि यस्तै वर्णन भेटिन्छ । स्कन्द, मत्स्य, लिङ्ग, ब्रह्माण्ड, वामनलगायत पुराणका साथै महाभारतमा समेत शिवजीको महिमागान गरिएको छ । जहाँ समस्त ज्ञान शिव र ब्रह्माबाट उत्पत्ति भएको चर्चा गरिएको छ । वेदका सयौं मन्त्रहरूद्वारा पनि शिवको स्तुति र प्रार्थना गरिएको छ । हिन्दू नारीका प्रिय देवता शिव हिन्दू नारीहरूको प्रिय देवता हुन् । हरेक सोमवार र साउन महीनामा झैं शिवरात्रिको दिन पनि उनीहरू शिवजीको विशेष उपासना गर्छन् । नारीले गरेको पूजा, आराधना र प्रार्थनाले उनी छिट्टै खुशी हुन्छन् भनिन्छ । त्यसैले महिलाहरू अनुशासन र समर्पण भावका साथ उपवास बस्छन् । रातभर जाग्राम बसेर शिवपूजन र भजनकीर्तन गर्छन्, शिवलिङ्गमा जल र बेलपत्र चढाउँछन् । त्यसपछि मात्र उपवास छोड्छन् । यो दिन भक्तिपूर्वक गरिएको इच्छा, कामना शिवजीले सुन्ने र पूरा गरिदिने विश्वास गरिन्छ । व्रत, उपासना र अभिषेक शिवरात्रिमा उपवास (व्रत)को विशेष महत्त्व छ । ईशान संहितमा भनिएको छ : शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम् । आचाण्डालमनुष्याणां भुक्तिमुक्तिप्रदायकम ।। अर्थात् यो व्रतको पालना गरेमा सबै पापहरूको हुन्छ । सम्पूर्ण मानिसलाई सांसारिक भोग र अन्त्यमा मुक्तिसमेत प्राप्त हुन्छ । शास्त्रहरूका अनुसार शिवरात्रिमा उनी मानिसको सबैभन्दा नजीक हुन्छन् । त्यसैले, यो रातमा गरिएको व्रत सफल हुने विश्वास गरिन्छ । विधिविधानसँग गरिएको व्रतले यस लोकमा मनोकामना पूरा हुने र मोक्ष मिल्ने विभिन्न ग्रन्थहरूले बताएका छन् । यो दिन श्रद्धालुहरू बिहानै उठेर स्थानादि कर्म गर्छन् । त्यसपछि दर्शनका लागि शिवमन्दिर जान्छन् । विशेष भक्तहरू शिवलिङ्गमा जलको अभिषेक गर्छन् । शिवजीको प्रतीक स्वरूप हो शिवलिङ्ग । यसका अनेक नाम छन्, जस्तै– पशुपतिनाथ, त्रिभुवनेश्वर, मुक्तेश्वर, सर्वेश्वर, गोपेश्वर, विश्वनाथ, त्र्यम्बकेश्वर, त्रिमूर्ति (अर्थात् ब्रह्मा, विष्णु, शङ्करका रचयिता) । शिवरात्रिमा रुद्राभिषेकको अत्यन्त महत्त्व छ । ‘ॐ नमः शिवाय’ मन्त्र जप्दै दूध, दही, सख्खर, मह, घ्यू मिसाइएको जलद्वारा अभिषेक गर्नाले शिवजी प्रसन्न हुन्छन् । शिवजीलाई जल, बेलपत्र, भस्म, रुद्राक्ष, धतुरो, कपूर, चन्दन प्रिय हुन्छ । शिवजीलाई खुशी पार्न धेरै सजिलो छ । शिवलिङ्गमा जल र बेलपत्र चढाए मात्र पनि उनी तुरुन्त खुशी हुन्छन् । श्रद्धालुको थोरै भक्ति, प्रार्थना र पूजाले पनि खुशी हुने भएकाले शिवजीलाई आशुतोष पनि भनिएको छ । शिवलाई समस्त मानव, दैत्य र देवताको पनि देवता मानिएको छ । त्यसैले उनलाई परमेश्वर, महादेव जस्ता नामले पुकारिन्छ । शास्त्रमा शिवजीका १ हजार ८ नाम बढी प्रसिद्ध छन् । त्यसबाहेक पनि भक्तहरू उनलाई आ–आफ्नै तरीकाले सम्बोधन गर्छन् । मानिसले कल्याणदायी भावनाले आफ्नो मन भगवान् शिवमा अर्पण गर्नुपर्ने र सत्यम्, शिवम्, सुन्दरम्को सिद्धान्त अवलम्बन गर्नुपर्नेमा शास्त्रहरूले जोड दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)