अभियान संवाददाता
म्याग्दी । जङ्गलमा खेर जाने अल्लोबाट कपडा निर्माण गर्नु सजिलो काम होइन । यही कामलाई सजिलैसँग व्यवहारमा उतारी मासिक ६० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएकी छन् म्याग्दीकी उद्यमी नेकसरा पुन ।
जिल्लाकै सफल महिला उद्यमीका रूपमा चिनिएकी पुनलाई खाली हात बस्न मन पर्दैन । विद्यालय उमेरबाटै तान बुन्न सिपालु पुनले १९ वर्षदेखि अल्लोको धागोबाट विभिन्न किसिमका कपडा बुनेर विक्री गर्दै आएकी छन् । मालिका गाउँपालिकाकी पुनले बेनी बजारमा अल्लो कपडाको उद्योग सञ्चालन गरेकी छन् । अरूले बुनेको देखेर यसतर्फ लागेकी पुनले झोला, लेस, रुमाल, गलबन्दी, सल, पञ्जालगायत बुन्ने गरेकी छन् ।
एसएलसीसम्म अध्ययन गरेकी पुनले खेर जाने अल्लो सङ्कलन गरी त्यसको पुवा काढेर विभिन्न किसिमका कपडाको उत्पादन गर्ने बताइन् । शुरूमा गाउँघरमै तान थापेर बुन्ने गरे पनि हाल सदरमुकाम झरेर विभिन्न सङ्घसंस्थाको सहयोगमा आफूले पेशालाई अगाडि बढाएको पुनको भनाइ छ ।
उद्यमी पुनले जिल्ला लघुउद्यमी समूह सङ्घ (डिमेगा), सङ्गम म्याग्दी, धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र, डीसीआरडीसी बागलुङसहितका सङ्घसंस्थाबाट तालीम तथा प्राविधिक सहयोग पाएकी छन् ।
हिमाली अल्लो कपडा उत्पादन लघुउद्यमी समूहमा सचिव समेत रहेकी पुनले म्याग्दी र बाहिरी जिल्लामा पुगेर धेरैलाई उद्यमसम्बन्धी तालीम दिएर उद्यमी बनाएको अनुभव सनाइन् । अल्लोको उत्पादन नेपालीसँगै विदेशीले पनि बढी मन पराउने हुँदा नेपालीलाई भन्दा विदेशीलाई सामानको मूल्य केही बढी पर्ने उद्यमी पुनले बताइन् । अल्लोबाट बनाइएको कोटको मूल्य ५ हजार रुपैयाँ, ल्यापटप ब्याग र जुत्ता २ हजार ५ सय रुपैयाँ, झोला १ हजार ६ सय रुपैयाँ, टोपी ८ सय रुपैयाँ र मोबाइल झोला तथा जेन्स पर्सलाई ५ सय रुपैयाँ पर्ने पुनले जानकारी दिएन् ।