अभियान संवाददाता
काठमाडौं । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अबको विकास स्थानीय तहमा केन्द्रित हुने बताएका छन् । विकास पत्रकार मञ्च (फोडेज)ले दोस्रो वार्षिकोत्सवमा बिहीवार आयोजना गरेको ‘विकास पत्रकारिता सम्मान २०७४’ कार्यक्रममा उनले अबको विकासलाई विकेन्द्रीकरण गर्न स्थानीय तहले नै पूर्वाधार विकास गर्नुपर्ने बताएका हुन् ।
सचिव थपलियाले विकासका लागि सञ्चारमाध्यमको भूमिका महŒवपूर्ण हुने भन्दै भने, ‘विकास नै आर्थिक समृद्धिको द्योतक हो ।’ केन्द्रले स्थानीय तहमा हुने विकासमा खबरदारी, पहरेदारी र निगरानी गर्न आवश्यक रहेको उनको तर्क थियो । कार्यक्रममा वरिष्ठ पत्रकार भारतदत्त कोइरालाले मुलुकको आर्थिक समृद्धिका लागि विकास पत्रकारिता अपरिहार्य भएको बताए ।
उनले पत्रकारितामार्फत पनि धेरै कुरा गर्न सकिने भन्दै विकासका लागि अबको पत्रकारिता सक्रिय हुनपर्नेमा जोड दिए । नेपाल ग्रील तथा स्टील व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले मुलुकको विकासमा निजी क्षेत्रको महŒवपूर्ण भूमिका हुने बताए । यस्तै ‘समावेशी पुनर्निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसाल र महासङ्घका तर्फबाट कार्यक्रम संयोजक विमल पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वल्र्ड भ्यू नेपालका कार्यक्रम व्यवस्थापक विश्वमणि पोखरेल, राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी, नेपाल नगरपालिका सङ्घका कार्यकारी सचिव कलानिधि देवकोटालगायतले धारणा राखेका थिए ।
विकास पत्रकारिता पुरस्कार मैनालीलाई
विकास पत्रकार मञ्च (फोडेज), नेपालले यस वर्षको विकास पत्रकारिता सम्मान पत्रकार मोहन मैनालीलाई प्रदान गरेको छ । पत्रकारितामार्फत विकासमा पुर्याएको योगदानको कदर गर्दै मञ्चले उनलाई सम्मान गरेको हो ।