ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नयाँ सरकार गठनसँगै निजीक्षेत्रमा उत्साह : लगानीको वातावरण निर्माण र आर्थिक विकासमा ध्यान दिन आग्रह

Feb 18, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नयाँ संविधानअनुसार नयाँ सरकार गठन भएपछि निजीक्षेत्र उत्साहित भएको छ । लामो राजनीतिक सङ्क्रमणपछि मुलुकले संविधानसभाबाट संविधान पाएको र त्यही संविधानअनुरूप तीनै चरणका निर्वाचन सम्पन्न भएर मुलुक अघि बढिरहेको परिप्रेक्ष्यमा मुलुक अब आर्थिक विकास र समृद्धिको दिशामा अघि बढ्ने उनीहरूको अपेक्षा छ । नेपाल उद्योग परिसङ्घले देशमा सम्पूर्ण राजनीतिक परिवर्तन सम्पन्न भइबनेको नयाँ सरकारले आर्थिक परिवर्तन तथा समृद्धिलाई आफ्नो लक्ष्य बनाउने अपेक्षा गरेको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्शले पनि अब लगानीको वातावरण सृजना गरी आर्थिक विकासमा ध्यान दिन आग्रह गरेको छ । महासङ्घले आइतवार पत्रकार सम्मेलन गरी नयाँ परस्थितिमा निजीक्षेत्रको अवधारणा प्रस्तुत गर्ने जानकारी दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएलगत्तै परिसङ्घले दिगो, शान्ति र आर्थिक समृद्धिको एजेण्डालाई नै प्राथमिकतामा राख्ने अपेक्षा गरेको छ । मुलुकमा गरीबी, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर, उच्च मुद्रास्फीति, कहालिलाग्दो व्यापार घाटा, पूर्वाधारको कमजोर अवस्था र पूँजीगत खर्चको घट्दो क्रमले अर्थव्यवस्थामा संरचनात्मक समस्या देखिएकाले परिसङ्घले यी समस्यालाई सम्बोधन गर्नुपर्ने बताएको छ । परिसङ्घले यो सरकारले औद्योगिक लगानी प्रवद्र्धनको साथै रोजगारी सृजनामा सुनिश्चित वातावरण कायम गरी मुलुकमा औद्योगिक क्रान्ति, पूर्वाधार विकास तथा सुशासनको पूर्ण प्रत्याभूति दिने विश्वास लिएको छ । यस्तै, परिसङ्घले मुलुकलाई विकासको बाटोमा लैजाने मार्गचित्र कोर्न सरकारसँग सहकार्य गर्न उत्सुक रहेको जानकारी दिएको छ । यता अर्को निजीक्षेत्रको संस्था नेपाल चेम्बरले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली नेतृत्वमा गठन भएको नयाँ सरकारलाई बधाइ दिँदै मुलुकमा लगानीको वातावरण सृजना गर्न आग्रह गरेको छ । राजनीतिक सङ्क्रमणकाल समाप्त भएसँगै मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने विश्वास लिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चेम्बरले मुलुकको आर्थिक समृद्धिका लागि नयाँं सरकारसँग मिलेर जान तत्पर रहेको उल्लेख गर्दै लगानीको वातावरण बनाउन, निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न पनि चेम्बरले सरकारसँग आग्रह गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)