अभियान संवाददाता
काठमाडौं । उद्योग वाणिज्य महासङ्घले २०७५–२०८५ को समयलाई ‘मुलुक निर्माण दशक’का रूपमा घोषणा सरकारसँग आग्रह गरेको छ । महासङ्घले एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित सरकारलाई बधाई तथा शुभकामना दिँदै आइतवार पत्रकार सम्मेलनमार्फत १२ बुँदे आफ्ना अपेक्षासमेत सार्वजनिक गरेको हो ।
महासङ्घले अर्थतन्त्रलाई सबल बनाउन र आर्थिक गतिविधि अगाडि बढाउनु आवश्यकता रहेको बताएको छ । देशको विकास गर्न पूर्वाधार विकास, औद्योगिकीकरण, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने महासङको भनाइ छ ।
‘मुलुक निर्माण दशक’ अभियानका लागि रणनीति तथा कार्यक्रम तत्काल सार्वजनिक गर्न, प्रादेशिक तथा सङ्घीय सरकारका तर्फबाट स्वदेशी एवम् विदेशी लगानी आकर्षणका लागि तत्काल नीतिगत सुनिश्चितता र सुरक्षाको प्रत्याभूतिसहितका योजना तथा कार्यक्रम सार्वजनिक गर्नसमेत महासङ्द्दले सरकारसँग आग्रह गरेको छ ।
यस्तै, जलविद्युत्लगायत राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्न, नयाँ योजना सार्वजनिक र आर्थिक विकासमा तीव्रतर अगाडि बढेका भारत र चीनको लगानी आकर्षण गर्ने नीति राज्यले अबलम्बन गर्नुपर्ने नयाँ सरकारसँग आग्रह गरिएको छ । प्रभावकारी आर्थिक कूटनीतिको माध्यमबाट छिमेकीको लगानी तथा प्रविधि भित्र्याउने वातावरण निर्माण गर्नुपर्नेमा समेत महासङ्घको आग्रह छ ।
पत्रकार सम्मेलनमा महासङ्घ अध्यक्ष भवानी राणाले लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताइन् । आर्थिक विकास र समृद्धिका लागि निजीक्षेत्र सधैं तयार रहेकोसमेत उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘लगानीमैत्री वातारणका लागि केही ऐन आए पनि कालो बजारी ऐन २०३२, टे«डमार्क तथा डिजाइन ऐन २०२२ लगायत ऐन कानून तत्काल समसामयिक बनाउनुपर्छ ।’
महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सन् १९९० ताका गरिएको आर्थिक सुधारमार्फत उदार अर्थनीति अवलम्बन गरिएकाले केही महत्त्वपूर्ण सकारात्मक प्रभाव परेको उल्लेख गरे । सरकार र निजीक्षेत्र मिलेर रोजगारी सृजना र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा उनले राखे ।
सातै प्रदेशमा प्रदेशस्तरीय संरचना तयार गरेको महासङ्घले पहिलो आगामी १३ फागुनमा पोखराबाट वहस कार्यक्रम शुरू गर्ने जानकारी दिएको छ । फागुनभित्रै प्रादेशिक बहस सम्पन्न गरी चैतको पहिलो साता काठमाडौंमा ‘राष्ट्रिय आर्थिक साझेदारी सम्मेलन’ आयोजना गर्ने तयारी रहेको महासङ्घले जानकारी दिएको छ ।