अभियान संवाददाता
म्याग्दी । पश्चिम म्याग्दीको दरवाङमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनामा जिल्लावासीलाई प्राथमिकता दिएको आयोजनाले बताएको छ । स्थानीयका साथै स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई प्राथमिकता दिई आयोजनाले काम अगाडि बढाएको दरवाङ कालिका हाइड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।
‘गाउँदेखि विदेशसम्म रहेका म्याग्देलीको लगानीलाई प्राथमिकता दिएका छौं । विकटमा बस्ने किसानको घरसम्म शेयर पु¥याउने प्रयास गर्नेछौं,’ उनले भने । उनले आर्थिक अवस्था कमजोर भएका म्याग्दीवासीलाई धनी बनाउने उद्देश्यले घरदैलो अभियान, अन्तरक्रिया कार्यक्रम, जलविद्युत्को महŒव, भविष्यमा प्राप्त हुने नाफासहित जलविद्युत्मा लगानीको वातावरण बनाइरहेको बताए ।
उनले स्थानीय गाउँपालिकासँग समेत सहकार्य गरी प्रभावित क्षेत्रका जनतालाई जलविद्युत्मा लगानी र भविष्यमा प्राप्त हुने प्रतिफलका बारेमा जानकारी गराउने बताए । केही दिनअगाडि ४ वाणिज्य बैङ्क र २ विकास बैङ्कले वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेका थिए । यससँगै आयोजनाले निर्माणलाई तीव्रता दिने गरी स्थानीयस्तरमा समेत विभिन्न छलफल तथा लगानीका बारेमा जानकारीसहितको कार्यक्रम गर्ने बताएको छ ।
आयोजनामा सानिमा बैङ्कको नेतृत्वमा प्रभु बैङ्क, कुमारी बैङ्क, सेञ्चुरी बैङ्क, मुक्तिनाथ विकास बैङ्क र महालक्ष्मी विकास बैङ्कले ३ अर्ब ५० करोड ऋण लगानी गर्ने सम्झौता गरेका थिए ।
कुल ५ अर्ब १४ करोड लगानी रहेको परियोजनामा संस्थागत पुँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गर्ने सञ्चालक ज्ञानेन्द्र थापाले बताए ।
उनले पश्चिम म्याग्दीमा जलविद्युत मार्फत लगानी भित्राउँदै दुर्गम क्षेत्रमा जनतालाई समेत आर्थिक रुपमा आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको बताए । म्याग्देलीको लगानीबाट अपुग भएमा मात्रै बाहिरी लगानीकर्ताबाट लगानी भित्राउने बताए । सन् २००८ मा स्थापना भएको आयोजनाले एकदशक पछि आयोजनाको गतिलाई अगाडी बढाएपछि आयोजना प्रभावित क्षेत्रका बासिन्दा समेत उत्साहित भएको मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले बताए ।