अभियान संवाददाता
अछाम । मङ्गलसेन नगरपालिका–६ ठूलासैनस्थित मालिका सामुदायिक बालविकास केन्द्रका बालबालिका जोखीमपूर्ण भवनमा अध्ययन गर्न बाध्य छन् । विद्यालयको भवन जीर्ण हुँदा १ देखि ३ वर्षका करीब २८ जना बालबालिका जोखीमपूर्ण रूपमा अध्ययन गरिरहेका हुन् । बालविकास केन्द्रको आफ्नै भवन नहुँदा बालबालिकालाई पठनपाठनमा निकै समस्या रहेको मालिका सामुदायिक बालविकासका सहजकर्ता जमुना भण्डारीले बताइन् ।
बालविकास केन्द्रका लागि छुट्टै भवनको माग पटकपटक गर्दा पनि कुनै निकायले चासो नदिएको भण्डारीले गुनासो गरिन् । गाउँघरमा बसिरहेका बालबालिकालाई विद्यालय आउन उत्प्रेरित गर्ने केन्द्रको उद्देश्य छ । बालबालिकालाई विभिन्न किसिमका सिकाइ तथा मनोरञ्जनात्मक सामग्री सेतो गुराँस बालविकास सेवा कार्यक्रमले उपलब्ध गराउँदै आएको छ । यस्ता सामग्री बालविकास केन्द्रमा उपलब्ध गराउँदा बालबालिका विद्यालयतिर निकै आकर्षक बनेको सेतो गुराँस बालविकास सेवा कार्यक्रमका विष्णुप्रसाद भण्डारीले बताए । करीब २ वर्षदेखि सेतो गुराँस बालविकास सेवा कार्यक्रमअन्तर्गत अछामका ४ सय ७२ बालविकास केन्द्रमध्ये १ सय ४ ओटामा यो कार्यक्रम सञ्चालनमा छ ।