ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रहरी जनशक्ति बढाउँदै कर्णाली

Feb 28, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
सुर्खेत । कर्णाली प्रदेशमा शान्तिसुरक्षा तथा नागरिकको धनजनको सुरक्षाका लागि थप प्रहरी जनशक्ति बढाउने तयारी भएको छ । सुरक्षाकर्मीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएर करीब साढे १० हजार सुरक्षाकर्मी थप्ने योजना रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले हालै मन्त्रालय सुधारको ४० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । प्रदेशलाई डिजिटल प्रदेश बनाउन सबैभन्दा पहिले सुरक्षा निकायबाट थालनी गरिने जानकारी उनले दिए । शान्ति–सुरक्षाविना समृद्ध प्रदेश बनाउन असम्भव भएकोले सुरक्षाकर्मीलाई प्रविधिमैत्री बनाउँदै थप जनशक्ति बढाउने योजना ल्याएको उनको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा डिजिटल प्रदेश निर्माण कार्यदल र मन्त्रालयका कानून अधिकृत तुलसा गैरेको संयोजकत्वमा कानून मस्यौदासम्बन्धी कार्यदल गठन गरिएको मन्त्री भण्डारीले जानकारी दिए । समृद्धिका लागि शान्ति सुरक्षाअन्तर्गत प्रदेशलाई समृद्ध बनाउन १५ दिनभित्र पर्यटन प्रहरीको व्यवस्था गर्ने, हरेक गाउँपालिका तथा नगरपालिकाका वडामा सुरक्षा समिति गठन गर्ने, सरकारी तथा गैरसरकारी संस्थामा जागीर गर्न हरेक व्यक्तिको चालचलन रिपोर्ट अनिवार्य बनाउने, सवारी अनुमतिविना सञ्चालित सवारीसाधन रोकथामका लागि स्थानीय तहसँग समन्वय गर्नेलगायत योजना छन् । त्यस्तै, डिजिटल प्रदेश निर्माणअन्तर्गत कर्णालीका १० ओटै जिल्लामा प्रदेशबाट हेर्नेगरी सीसी क्यामेरा जडान गर्ने, अहिले रहेका २ सय १६ प्रहरी एकाइमा सञ्चार उपकरणको पर्याप्त व्यवस्था गर्ने, जाजरकोट, सल्यान र रुकुम जिल्लामा प्रहरी सञ्चारका लागि रिपिटर टावरको व्यवस्था गर्ने, प्रदेशका विशिष्ट व्यक्तिको आवागमन, निवास, कार्यक्रमस्थलमा जानकारी लिन सञ्चार प्रविधि जोड्ने, कर्णाली राजमार्ग तथा काठमाडौं जाने ठूला बसमा जीपीएस जडान गर्ने योजना पनि अघि सारिएको छ । नागरिक सुरक्षाका लागि आपराधिक वा प्राकृतिक घटना भएका स्थानमा शहरमा आधा घण्टा र ग्रामीण क्षेत्रमा १ घण्टाभित्र प्रहरी पुग्ने तयारी भएको छ । कर्णादी प्रदेशका एआईजी रणबहादुर चन्दले पर्यटनका लागि आकर्षक क्षेत्र रहेको यस प्रदेशमा पर्यटन प्रहरी गठन गरी छिट्टै परिचालन गरिने योजना रहेको बताए । मन्त्रालयको बैठकले ४ वर्षदेखि कार्णाली राजमार्गमा रात्रि यातायातका साधन सञ्चालनमा लगाइएको रोक फुकुवा, रोड परमिट नभएका सडकमा सवारी सञ्चालनमा कडाइ, चुस्त ट्राफिक व्यवस्थापन, मदिरा निषेध र लागूऔषधको विक्रीवितरण नियन्त्रण गर्ने निर्णय भएको उनले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)