ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौसमी राडर केन्द्र निर्माण हुँदै

Mar 1, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
वीरेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा मौसमको पूर्वसूचना दिने राडर निर्माण गर्न लागिएको छ । वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ला डाँडामा जल तथा मौसम विज्ञान विभागले नेपालको पहिलो मौसमी राडर केन्द्र स्थापना गर्न लागेको हो । राडर निर्माणपश्चात् जल तथा मौसमजन्य प्रकोपहरूको कारणबाट हुने क्षति न्यूनीकरण हुने बताइएको छ । विश्व बैङ्कको सहयोगमा नेपाल सरकारले उक्त केन्द्र्र स्थापना गर्न लागेको हो । राडरले २ सय किलोमिटर दूरीसम्मको मौसमी अवस्थाको जानकारी दिनेछ । १७ करोड लागतमा निर्माण हुन लागेको राडर निर्माणस्थलमा हाल पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माणको जिम्मा पाएको बिसी कन्ष्ट्रक्शन सुर्खेतका सञ्चालक दलबहादुर बिसीले बताए । सरकारले ०७२ माघ २० गतेको निर्णयअनुसार वन विभागसँग २०७३ असार २२ गते रातानाङ्लामा मौसमी राडर स्थापना र सञ्चालनका लागि वन क्षेत्र उपलब्ध गराउन सम्झौता गरेको थियो । सन् २०१८ सेप्टेम्बरसम्म निर्माण गरिसक्नु पर्ने राडरको निर्माण जिम्मा इण्टरप्राइज इलेक्ट्रोनिक कोअप्रेशन अमेरिकाले लिएको छ । १ करोड २९ लाखको लागतमा निर्माण भइरहेको पहुँचमार्ग चैत पहिलो सातासम्ममा सम्पन्न हुने बताइएको छ । त्यसलगत्तै राडर राख्नेस्थलमा फाउण्डेशनको काम शुरू हुने मध्य तथा सुदूरपश्चिमाञ्चल हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए । राडर स्थापना भएपछि वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालीको बहाव, बादलको अवस्था, चक्रवातको बहिर्भावको स्थिति, असिना, हिउँ, चट्याङ र बाढीलगायतको जोखीमको पूर्वानुमान गर्न सकिने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)