अभियान संवाददाता
वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर–१४, गढीका एक दम्पतीले जागीर छाडेर पशुपालन व्यवसाय अँगालेका छन् । गढी राम्रीकाँडाका डिलबहादुर र गङ्गा खत्रीले व्यावसायिक रूपमा पशुपालन शुरू गरेका हुन् । डिलबहादुर गाउँकै खानेपानी आयोजनामा काम गर्थे । उनले जागीर छोडेर गएको भदौदेखि पशुपालन थालेका हुन् । खत्री दम्पतीले अहिले तीनओटा भैंसी र एउटा दुहुनो गाई पालेका छन् ।
दैनिक २७ लिटर दूध विक्री गरिरहेको डिलबहादुरले बताए । व्यवसायमा एकजनालाई रोजगारी दिएका उनीहरू पनि यही व्यवसायमा व्यस्त छन् । एक जना कर्मचारीलाई पारिश्रमिक दिएर मासिक ३० देखि ३५ हजार रूपैयाँसम्म आम्दानी हुने गरेको गङ्गाले बताइन् । ‘व्यवसायले हामीलाई धेरै सहयोग पुगेको छ,’ गङ्गाले भनिन्, ‘एक जनालाई जागीर दिएका छौं, हामी दुईजना पनि यसमै व्यस्त छौं ।’
जागीरभन्दा व्यवसाय नै उपयुक्त लागेको डिलबहादुरले बताए । ‘जागीर र व्यवसायमा धेरै फरक पाएँ,’ डिलबहादुरले भने, ‘जागीर गर्दा तलबमा सीमित हुनुपर्थ्यो, तर अहिले जे बेचे पनि फाइदै भएको छ, त्यो सबै आफैलाई हो ।’ खत्री दम्पतीले एउटा भैंसीबाट व्यवसाय शुरू गरेका थिए ।
गङ्गा गाउँमा किर्डाक नेपालले सञ्चालन गरेको फूलबारी स्वास्थ्य आमा समूहको सदस्य छन् । व्यवसाय गर्न चाहने समूहका सदस्यलाई किर्डाकले गरेको व्यवसाय सञ्चालनसम्बन्धी तालीम दिएपछि गङ्गाले सो व्यवसाय शुरू गरेको बताइन् । समूहबाट १५ हजार रूपैयाँ ऋण लिएर व्यवसाय शुरू गरेको खत्री दम्पतीले अहिले त्यसैबाट लाखौं रुपैयाँबराबरको व्यवसाय पुर्याएका छन् । खत्री दम्पती थोरै पूँजीबाट पनि व्यवसाय शुरू गर्न सकिन्छ भन्ने उदाहरणसमेत बनेका छन् ।