अभियान संवाददाता
अछाम । अछामको साफेबगर नगरपालिकाले नगर डाटा पोर्टल तथा सूचना प्रविधि केन्द्र स्थापना गरेको छ । डाटा पोर्टल तथा सूचना प्रविधि केन्द्रको शनिवार उदघाट्न गरिएको हो । देशभरका ७ सय ५३ ओटा स्थानीय तहमध्ये नगर डाटा पोर्टल तथा सूचना प्रविधि केन्द्र स्थापना गर्ने यो पहिलो नगरपालिका बनेको छ ।
कार्यक्रममा अछाम क्षेत्र नम्बर १ प्रदेश १ का सांसद हर्कबहादुर कुँवरले अब जिल्लाका १० ओटै स्थानीय तहमा यो सेवा विस्तार गर्नुपर्ने बताए । यसका लागि आफ्नो प्रदेशभित्रका सबै वडाध्यक्षसँग छलफल गरिसकेको भन्दै उनले चाँडै सबै क्षेत्रमा यो सेवा विस्तारको तयारी थालिने जानकारी दिए । ‘छिटोछरितो सेवा तथा सुशासनका लागि प्रदेश ७ का सबै जिल्लामा यो सेवा पु¥याउन प्रदेश सरकारमा प्रस्ताव राख्छु,’ उनले भने ।
नेपालमा करीब ८० प्रतिशतभन्दा बढी जनताले मोबाइल प्रयोग गर्ने भएकोले त्यसैमा सूचना पाउने वातावरण बनाउन सूचना प्रविधि केन्द्रको आवश्यकता भएको कार्यक्रमका विशिष्ट अतिथि धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बडले बताए । ‘स्थानीय तहमा कृषि, शिक्षा, व्यापार, पर्यटनलगायत विकासको अवस्था बुझ्न डाटा सङ्कलनको आवश्यकता छ,’ उनले भने । १५ दिनभित्रै धनगढी उपमहानगरपालिकामा यो सेवा विस्तार हुने समेत उनले जानकारी दिए ।
उक्त कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख कुलबहादुर कुँवरले प्रविधिमा नगरका जनताको पहँुच पु¥याउने मुख्य लक्ष्य रहेको बताए त्यसका लागि सूचना र प्रविधिलाई प्राथमिकतामा राखेर यो कार्यक्रम विस्तार गरिएको उनको भनाइ छ । कार्यक्रमका जिल्ला समन्वय समिति, अछामका कार्यवाहक संयोजक टोपबहादुर रावलले सूचना प्रविधिको प्रयोगले देशको विकास र समृद्धिमा समेत टेवा पुगेको बताए ।