अभियान संवाददाता
कास्की । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मङ्गलवारदेखि सरकारी कार्यालयहरूको अनुगमन थालेका छन् ।
सङ्घीयता कार्यान्वयनपछि सरकारी कार्यालय र कर्मचारीमा देखिएको अन्योल हटाउन र जनताको सुशासनप्रतिको चाहना पूरा गर्न प्रदेश सरकारले अनुगमन तथा निरीक्षण थालेको बताएको छ ।
मन्त्री चुमानले मङ्गलवार यातायात व्यवस्था विभागको सवारी लाइसेन्स वितरण कार्यालय पुगेर सहजरूपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिए । उनले मुलुक सङ्घीयता कार्यान्वयनको चरणमा भएको बताउँदै कुनै अलमल र द्विविधामा नपरी जनताको अपेक्षाअनुरूपको सेवा तथा सुविधा दिन निर्देशन दिए । केन्द्रीकृत शासन प्रणालीअन्तर्गत सञ्चालन भएको सेवा प्रवाहलाई प्रदेश सरकारको मातहतमा ल्याउने क्रम शुरू भएकाले भन्दै उनले निर्धक्क भएर काम गर्न कमचारीलाई निर्देशन दिएका हुन् ।
विशेष गरी राजस्व सङ्कलन हुने कार्यालयहरूमा जनताले सहज रूपमा राजस्व कसरी तिर्न सक्छन् भन्ने विषयमा स्पष्ट योजनासहित कार्यान्वयनमा ल्याउन उनले कर्मचारीलाई आग्रह गरे । अनुगमनका क्रममा कार्यालय प्रमुख अच्यूतराज रेग्मीले कार्यालयमा आउने सेवाग्राहीले बैङ्कबाट सीधै राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन सकिने जानकारी दिए । अहिले यातायात व्यवसायीले नयाँ सवारी दर्ता गर्न माग गरिरहेको र पोखराको अवस्था हेरेर मात्र दर्ता दिने गरेको उनले बताए ।