अभियान संवाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको विशेष सभाबाट महासङ्घमा रिक्त जिल्ला÷नगर उपाध्यक्ष पदमा उद्यमी किशोरकुमार प्रधान निर्वाचित भएका छन् । किशोर प्रधान र निरक केसीबीच भएको प्रतिस्पर्धामा प्रधान ६५ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी केसीले ३३ मत प्राप्त गरेका थिए ।
नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई महासङ्घका अध्यक्ष भवानी राणाले पद तथा गोपनीयताको शपथग्रहण गराएकी थिइन् । नवनिर्वाचित उपाध्यक्ष प्रधान महासङ्घमा यसअघि २०७०/७३ सालको कार्यकालमा जिल्ला/नगर उपाध्यक्ष थिए । ११ महीनाअघि सम्पन्न महासङ्घको पाँचौं अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उठेका प्रधान शेखर गोल्छासँग पराजित भएका थिए । यसअघि जिल्ला नगर उपाध्यक्षमा विजयी भएका प्रमोद श्रेष्ठ स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा उठेपछि सङ्घको विधानअनुरूप उक्त पद रिक्त भएको थियो ।
महासङ्घ पदाधिकारी कुनै पनि राजनीतिक दलमा आबद्ध भए उसको पद निलम्बन हुने व्यवस्था छ । प्रमुखमा पराजित भएपछि प्रमोदले आफ्नो पद कायम राखिपाऊँ भनी सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोेच्चले गत बुधवार उनको रिट खारेज गरेपछि महासङ्घले विधानतः उपाध्यक्षको चुनाव गराएका हो ।
विशेष सभामा बोल्दै महासङ्घका अध्यक्ष राणाले रिक्त जिल्ला/नगर उपाध्यक्षको निर्वाचनसँगै महासङ्घका वर्तमान पदाधिकारीले पूर्णता पाएको र अब मुलुकको आर्थिक विकासमा आफ्नो टिम पूरा समय लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले निजी क्षेत्रका अगाडि धेरै चुनौती रहेको उल्लेख गर्दै विद्यमान अवस्थामा आफ्नो टीमले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
नवनिर्वाचित उपाध्यक्ष प्रधानले महासङ्घमा आफ्नो लामो अनुभव र उद्योग व्यवसायलाई समेत आफूले नजिकबाट बुझेकाले आफ्नो कार्यकालमा महासङ्घलाई अझ सशक्त ढङ्गबाट अगाडि बढाउन आफूले पूरा समय दिने विश्वास दिलाए । उनले अब महासङ्घका जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरू र प्रदेश उद्योग वाणिज्य महासङ्घलाई मुलुक नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा सोहीअनुसार अगाडि बढाउने धारणासमेत राखे ।